काठमाडौं । नेपाली कांग्रेस स्थापना भएको आठ दशकमा तेस्रो पटक गम्भीर विभाजनको जोखिममा पुगेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा बोलाइएको विशेष महाधिवेशनले सहमतिको बाटोभन्दा प्रतिस्पर्धात्मक निर्वाचनतर्फ मोडिएसँगै पार्टीभित्रको द्वन्द्व झनै चर्किएको छ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा बहुसंख्यक प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकको दाबी छ। बन्दसत्रले कार्यविधिसँगै महामन्त्रीद्वयले अघि सारेका प्रस्तावहरू पारित गर्दै पुरानो निर्वाचन समिति भंग गरेको छ भने नयाँ निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया अघि बढाइसकेको छ।

तीन दिनसम्म सहमतिका लागि त्रिपक्षीय छलफल भए पनि सहमति जुट्न नसकेपछि विवाद खुला रूपमा सतहमा आएको छ। मनोनयन दर्ता सुरु भएसँगै सहमतिको सम्भावना झनै कमजोर बनेको छ।

मंगलबार साँझ बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले विशेष महाधिवेशनको हल बाहिर हुने कुनै पनि निर्णय अस्वीकार्य हुने स्पष्ट पारे। पार्टीभित्र विद्रोह होइन, रूपान्तरणको प्रयास भइरहेको उल्लेख गर्दै उनले नीति र नेतृत्व परिवर्तनको मागलाई विशेष महाधिवेशनमार्फत निर्णायक रूपमा टुंग्याउनुपर्ने बताए। ‘अब निर्णय यही हलले गर्छ, बाहिरको सहमतिले अर्थ राख्दैन,’ थापाको भनाइ थियो।

बन्दसत्रले विधान पारित गर्दै जनसम्पर्क समितिका तर्फबाट प्रत्येक महादेशबाट एक–एक जना केन्द्रीय सदस्य राख्ने व्यवस्था गरेको छ। विधान संशोधनसँगै निर्वाचन प्रक्रिया अघि बढेपछि पार्टी विभाजनको खतरा थप गहिरिएको विश्लेषण भइरहेको छ।

यता कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन्। सहमति जुटेमा बैठकले विशेष महाधिवेशनका निर्णय अनुमोदन गर्नेछ भने सहमति हुन नसकेमा महामन्त्रीद्वयमाथि अनुशासनात्मक कारबाहीको सम्भावना समेत देखिएको छ।

पार्टीका एक पदाधिकारीका अनुसार बन्दसत्र, वार्ता र सानेपाका गतिविधिहरूले कांग्रेसलाई निर्णायक मोडमा पुर्‍याएको छ। ‘अब सहमतिको सम्भावना कमजोर हुँदै गएको छ, पार्टी विभाजनको खतरा गम्भीर बन्दै गएको छ,’ उनले भने।

यद्यपी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो । यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0