शिवसताक्षी । सतासधाम जेसीजको वर्ष २०२६ का लागि अध्यक्ष पदमा निरोज दुलाल सर्वसम्मत रूपमा चयन भएका छन् । आज सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशनबाट दुलाल अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले कार्यकारी उपाध्यक्षद्वयमा मञ्जिल नेपाल र प्रतिमा बजगाईँलाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्षहरूमा नेहारिका प्रधान, मन्दिरा पौडेल, भुपेन्द्र बस्नेत र सुजन भण्डारी चयन भएका छन् ।
वर्ष २०२५ का अध्यक्ष पदमजंग कुँवरले नवगठित कार्यसमितिको विवरण सार्वजनिक गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ सक्रिय, प्रभावकारी र समाजमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जेसीजले युवाको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।
त्यसैगरी, सतासधाम जेसीजको जनसम्पर्क अधिकारीमा रुपेश कन्दंवा चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूले जेसीजका मूल्यमान्यता अनुसार युवालाई नेतृत्वमा अघि बढाउँदै सामाजिक सेवा, उद्यमशीलता र सकारात्मक परिवर्तनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।












