झापा । जिल्ला अदालत झापामा चार जना नयाँ मेलमिलापकर्ता थपिएका छन्। अदालतका प्रमुख न्यायाधीश प्रकाश राउतले एक कार्यक्रमबीच नवनियुक्त मेलमिलापकर्तालाई सपथ गराएका हुन्।
अदालत परिसरमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रमुख न्यायाधीश राउतले मेलमिलाप प्रक्रियाबाट विवाद समाधान हुँदा दुवै पक्ष ‘जित–जित’ को अवस्थामा पुग्ने बताए। उनले मेलमिलापबाट पक्षहरूको समय तथा खर्च बचत हुनुका साथै आपसी सम्बन्ध पुनर्स्थापना हुने र विवादको वैकल्पिक तथा दीगो समाधानमा सहयोग पुग्ने उल्लेख गरे।
न्यायसम्पादनमा अदालतले मेलमिलाप प्रक्रियालाई प्राथमिकतामा राखेको बताउँदै राउतले सूचीकृत मेलमिलापकर्ताले अनुशासन र इमान्दारीपूर्वक प्रक्रिया सञ्चालन गरे मेलमिलापको महत्व बढ्नुका साथै अदालतको कार्यबोझसमेत कम हुने बताए।
न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/०८२–२०८५/०८६) अनुसार विवाद समाधानका लागि मेलमिलाप पद्धतिलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। योजनाअनुसार मेलमिलाप हुन सक्ने प्रकृतिका ५० प्रतिशत मुद्दालाई मेलमिलाप प्रक्रियामा पठाउने र त्यसमध्ये ५० प्रतिशत मुद्दामा सफल मेलमिलाप अर्थात् मिलापत्र गराउने लक्ष्य छ।

अदालतका स्रेस्तेदार डिल्लीराम प्रसाईका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मेलमिलाप प्रक्रियामा पठाउने आदेश भएका मुद्दामध्ये करिब २० प्रतिशतमा मात्र सफल मेलमिलाप भएको थियो। मेलमिलापकर्ता थपिएसँगै आगामी दिनमा मेलमिलापको सफल दर बढ्ने अपेक्षा गरिएको उनले बताए।
सपथ ग्रहण कार्यक्रममा अदालतका न्यायाधीशहरू, स्रेस्तेदार तथा मेलमिलाप शाखाका कर्मचारीहरूको उपस्थिति थियो।
नयाँ चार जना मेलमिलापकर्तासहित झापा जिल्ला अदालतमा सूचीकृत मेलमिलापकर्ताको संख्या ४७ पुगेको अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार विशेषगरी पारिवारिक विवाद, सम्पत्ति तथा व्यावसायिक साझेदारीसँग सम्बन्धित मुद्दामा इजलासबाट आदेश भएमा वा पक्षले स्रेस्तेदारसमक्ष निवेदन दिएमा मुद्दालाई मेलमिलाप केन्द्रमा पठाउन सकिने कानुनी व्यवस्था छ। त्यस्ता मुद्दामा सूचीकृत मेलमिलापकर्तामार्फत मेलमिलाप प्रक्रिया सञ्चालन गरिन्छ।
अदालतका मुद्दाको काम–कारबाही तथा मेलमिलापसम्बन्धी जानकारी अदालतको मेलमिलाप शाखाबाट लिन सकिने तथा अदालतको वेबसाइटबाट https://supremecourt.gov.np/court/jhapadcसमेत हेर्न सकिने बस्नेतले बताए।












