बिर्तामोड । झापाको बिर्तामोडमा आज युवाशक्तिको पौरख, साहस र सम्भावनालाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ। काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.को आयोजनामा विभिन्न क्षेत्रमा उदाहरणीय योगदान पुर्याउँदै आएका पौरखी जेनजीलाई सम्मान गरिएको हो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा लोकतन्त्र पोष्ट म्यागेजिन २०८२ को लोकार्पण गरिएको छ। प्रमुख अतिथि महेन्द्र गिरी तथा सम्मानित पौरखी जेनजीहरूको हातबाट म्यागेजिन सार्वजनिक गरिएको हो। म्यागेजिनमा देशका विभिन्न कुनाबाट छानिएका १५ जना पौरखी जेनजीका संघर्ष, निरन्तरता र सफलताको कथा समेटिएको छ। कुल १५४ जनामध्ये विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १५ जनालाई छनोट गरी उनीहरूको प्रेरणादायी यात्रालाई म्यागेजिनमार्फत प्रस्तुत गरिएको छ।
म्यागेजिनको उद्देश्यबारे जानकारी दिँदै प्रधान सम्पादक मोहन काजी न्यौपानेले जेनजीहरूका सफलताका कथाले युवा पुस्तालाई प्रेरणा दिने र समाजमा सकारात्मक धारणा प्रवाह गर्ने विश्वास व्यक्त गरे। म्यागेजिनमा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराँते खेलाडी कृपा चापागाई, डा. चेवनराज कार्की, गायिका रचना रिमाल, नवप्रवर्द्धक सबिन बाँस्कोटा, गायक–कलाकार अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियान्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम ढकाल, फुटबलर अनन्त तामाङ, अभियान्ता तनुजा पाण्डे, क्रिकेटर अंकित सुवेदी, नवप्रवर्तनतर्फ राहुल विष्ट–तेज मगर/उत्सव दाहाल तथा कला क्षेत्रमा मनिषा राजवंशीका सफलताको कथा समेटिएको छ।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्र गिरीले लोकतन्त्र पोष्टले युवामा रहेको असीम सम्भावनालाई उजागर गरेको उल्लेख गर्दै युवाको पौरख नै समाज परिवर्तनको आधार भएको बताए। “युवा पुस्ताले समस्या देखेर निराश होइन, समाधान खोज्ने साहस गर्नुपर्छ,” उनले भने।
काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.का अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सम्मानित पौरखी जेनजी स्वेता बुढाथोकी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमले मेहनत, सिर्जनशीलता र समर्पणमार्फत अघि बढिरहेका जेनजीहरूलाई सम्मान मात्रै होइन, भावी पुस्ताका लागि प्रेरणाको सशक्त सन्देशसमेत दिएको सहभागीहरूको भनाइ थियो।












