अर्जुनधारा । यहाँ जारी झापा जिल्ला पालिकास्तरीय यू–१८ फुटबल प्रतियोगितामा आयोजक अर्जुनधारा नगरपालिकालाई पराजित गर्दै मेचीनगर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्जुनधारा–७ स्थित खेलमैदानमा बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेल निर्धारित समयमा बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा मेचीनगरले अर्जुनधारालाई ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

मेचीनगरका लागि राजु दर्जी, इन्सास लिम्बू, कप्तान आदित्य ढुंगेल र सुजल धिमालले गोल गर्न सफल भए। अर्जुनधारातर्फ साहिल खड्का र अर्पित मगरले गोल गरे पनि बुद्ध चौधरी र निश्चल भण्डारीको प्रहार मेचीनगरका गोलरक्षक युक्तेन लिम्बूले रोके।

निर्णायक भूमिका खेलेका गोलरक्षक युक्तेन लिम्बू ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्न सफल भए।

खेलको ३३औँ मिनेटमा मेचीनगरका सञ्जय हेमरमले दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्डमार्फत मैदान बाहिरिए पनि अर्जुनधाराले त्यसको फाइदा उठाउन सकेन। मेचीनगरले करिब ४५ मिनेट १० खेलाडीमा सीमित रहँदै खेल खेलेको थियो।

शनिश्चरे फुटबल क्लबको आयोजनामा तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सह–आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भद्रपुर नगरपालिका र कनकाई नगरपालिका बीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुने तय गरिएको छ।

९ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही ५–५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0