काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरीमा संलग्न नेपालगञ्ज घर भएका प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिका–स्थित महाँकालबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिँदा भाग्न खोजेपछि गोली प्रहार गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार थारुको खुट्टामा एक राउण्ड गोली लागेको छ । घाइते थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी अनुसन्धान अनुसार मंगलबार दिउँसो थारुले रिन्जी लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना तथा सि–माला जडित सुनको माला चोरी गरेका थिए । चोरी भएका सामानको मूल्य १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो करिब १२ बजे थारु टुसालस्थित घरमा प्रवेश गरी सिधै चौथो तलामा पुगेका थिए । उनले ढोकाको लक खोलेर त्यहाँ राखिएका बहुमूल्य गहना झोलामा राखी निस्किएका थिए । घरमा अन्य भाडामा बस्ने व्यक्ति तथा घरधनीका परिवारका सदस्य पाँचौँ तला र छतमा घाम तापिरहेका बेला चोरी भएको कसैले थाहा पाएनन् ।

दिउँसो करिब २ बजे ढोकाको लक खोलिएको र गहना हराएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरु गरिएको अनुसन्धानका आधारमा चोरी भएको २४ घण्टाभित्रै आरोपी पक्राउ परेका हुन् । प्रहरीका अनुसार माघ १७ गते भोटेबहालमा भएको २५ तोला सुन चोरी घटनामा पनि थारुकै संलग्नता हुनसक्ने आशंका गरिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0