झापा । झापा क्षेत्र नं. ४ मा निर्वाचन नजिकिँदै जाँदा घरदैलो कार्यक्रम तीव्र बनेको छ। नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले विगतमा गरेका विकास निर्माणका कामप्रति स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

लगातार दुई पटक निर्वाचित भइसकेका साँवाले गरेका कामको मूल्यांकन मतदाताले अहिले गर्न थालेका छन्। क्षेत्रका २८ वटा वडामध्ये २४ वटामा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ। साँवा निर्वाचनका बेला मात्र नभई अन्य समयमा पनि जनताकै बीचमा सक्रिय रहने भएकाले मतदातासँगको सम्बन्ध सहज रहेको उहाँको भनाइ छ।

साँवाको पहलमा ल्याइएको बजेटबाट क्षेत्रमा धमाधम पूर्वाधार विकासका काम भइरहेको देखिन्छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ मा झरना खोला पश्चिमदेखि सुन्दरपुर, मोरङ्गे खाडी हुँदै रिङरोड जोड्ने २७०० मिटर सडक कालोपत्रे कार्य संघीय सहरी विकास मन्त्रालयअन्तर्गत करिब ३ करोड रुपैयाँ लागतमा सुरु भएको छ।

त्यसैगरी तीनकुने चौकदेखि मंगोलियन चौक हुँदै रिङरोड जोड्ने २२४० मिटर सडक पनि करिब ३ करोड लागतमा निर्माणाधीन छ। सडक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित बजेटमार्फत शिवसताक्षी–८ को सम्झना चौकदेखि मायालु चौकसम्म २२०० मिटर सडक कालोपत्रे गर्ने काम पनि अघि बढेको छ।

विकास चौकदेखि संगम चौक, प्रगति चौक हुँदै मंगलबारे जोड्ने २५०० मिटर सडक तथा शिवपाञ्चायन मन्दिर–पाराबारी बजार–साधु चौक हुँदै फाल्गुनन्द चौक जोड्ने ३३०० मिटर सडक पनि निर्माण प्रक्रियामा रहेका छन्।

साँवाले विगतदेखि नै पारदर्शी र आवश्यकतामा आधारित बजेट कार्यान्वयन गर्दै आएको स्थानीयको भनाइ छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्र शिवसताक्षी क्षेत्रमा करिब १५ करोड रुपैयाँ बराबरका विकास आयोजना निर्माणाधीन रहेको जनाइएको छ।

स्थानीयस्तरमा तीव्र गतिमा भइरहेका विकासका काम र जनतासँगको निरन्तर सम्पर्कका कारण यसपटक पनि साँवा लिम्बुको जितको आधार बलियो बन्दै गएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0