शिवसताक्षी । शिवसताक्षी–७ लालझोडा स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरूले रोबोट निर्माण गरेका छन्। विद्यालयका प्राविधिक धारतर्फका विद्यार्थीहरूले तयार पारेको उक्त रोबोट ५८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा प्रदर्शन गरिएको हो।

सोही अवसरमा विद्यालयले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने १४ जना विद्यार्थीलाई ‘भानु मावि अवार्ड २०८१’ प्रदान गर्दै सम्मान गरेको छ। प्रधानाध्यापक डामकुमार कुँवरका अनुसार विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न र प्रोत्साहन गर्ने उद्देश्यले उक्त अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्राले उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गर्दै सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्यको परिणाम भएको स्पष्ट पार्दै नगरपालिकाले अघि सारेको ‘स्मार्ट विद्यालय’ अवधारणाले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याइरहेको उल्लेख गर्नुभयो।

यस्तै, २०८० सालको एसईई परीक्षामा सर्वाधिक जिपिए ल्याई नगरपालिका टप गर्ने विद्यार्थी मिराक हाङ चेम्जोङ र प्रमिला उप्रेतीलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न तहका उत्कृष्ट विद्यार्थीलाई स्वर्गीय भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति, टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति, जितेन्द्रराज चेम्जोङ–सरस्वती तुङ्गवाङफे छात्रवृत्ति तथा मनकुमार इजम ‘मुन्ना भाइ’ स्मृति छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न छात्रवृत्ति कोषमा लाखौँ रुपैयाँ सञ्चित रहेको छ।

यसै अवसरमा विद्यालयकी शिक्षिका भीमाकुमारी खत्रीद्वारा लिखित ‘अदृश्य पीडा’ नामक नाटक मञ्चन गरिएको थियो। पूजा चापागाईंको निर्देशनमा प्रस्तुत उक्त नाटकले विद्यालय उमेरका बालबालिकामा लागुऔषधको दुष्प्रभावबारे सशक्त सन्देश दिएको थियो, जसले दर्शकलाई भावुक बनाएको थियो।

यसै अवसरमा विद्यालयमा नर्सिङ कक्षाको उद्घाटन समेत गरिएको छ। नगरप्रमुख थोप्राले उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुभयो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र इजमको अध्यक्षतामा सम्पन्न भएको थियो। सहायक प्रधानाध्यापक टिकाप्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लेखा प्रमुख गणेश ढुंगेलले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0