काठमाडौं । निर्वाचन आयोगले धनुषाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी आज खारेज गरिदियो । मतदानको दुई दिनअघि आयोगले लिएको यो निर्णयले धनुषा १ मा रास्वपा उम्मेदवारविहिन बनेको छ ।
बैक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पाइएपछि साहको उम्मेदवारी रद्द गरिएको हो । रास्वपाले उनको ठाउँमा अर्को उम्मेदवार खडा गर्न सक्दैन । त्यसैले रास्वपाका समर्थकहरुले अब प्रत्यक्षमा अन्य पार्टीका उम्मेदवार रोज्नुपर्ने बाध्यता परेको छ । वा उनीहरुले प्रत्यक्षमा भोट नै नहाल्न सक्छ ।
उम्मेदवार नभए पनि मतपत्र भने साविककै हुने छ । अर्थात्, प्रत्यक्षमा घन्टी चुनावचिन्ह मतपत्रबाट हट्दैन । यस्तोमा यदि मतदाताले घन्टीमै भोट हाले भने के हुन्छ त ? यो प्रश्न हामीले निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईलाई सोध्यौं । उनले त्यस्तो मत बदर हुने बताए ।
‘उम्मेदवार रद्द हुनुको मतलव त्यस क्षेत्रमा सम्वन्धित पार्टीले उम्मेदवारी नदिएको सरह हो,’ भट्टराईले नेपाल प्रेससँग भने, ‘उम्मेदवार नभएको चिन्हमा कसैले भोट हाले स्वतः बदर हुन्छ ।’
हामीले उनलाई एउटा काल्पनिक प्रश्न गर्यौं, ‘यदि घन्टीकै चुनाव चिन्हमा सबैभन्दा बढी भोट पर्यो भने चाहिँ दोस्रो हुने उम्मेदवार बिजयी घोषित हुन्छ कि निर्वाचन नै रद्द हुन्छ ?’
उनले उम्मेदवार नभएको चिन्हमा जति भोट आए पनि बदर हुने भएकाले अन्य चुनाव चिन्हहरुबीच मात्रै प्रतिस्पर्धा हुने बताए । कथंकदाचित घन्टीलाई नै बढी भोट परेमा दोस्रो हुनेलाई विजयी घोषित गरिने उनको आशय छ ।
निर्वाचन आयोगले चुनावको मौनअवधिमा उम्मेदवारी खारेज गरेपछि रास्वपा पङ्ति झस्किएको छ । आखिर किन अगाडि नै निर्णय भएन भन्ने प्रश्न कतिपयले गरिरहेका छन् । आयोग प्रवक्ता भट्टराई भने उजुरी आएर त्यसको छानविन सकिएपश्चात निर्णय भएको बताउँछन् ।
यता, मधेश प्रदेशका मुख्य निर्वाचन अधिकृत रामबहादुर महत धनुषा १ मा उम्मेदवार खारेज भएको आफूलाई थाहै नभएको बताउँछन् । यस विषयमा बुझ्न खोज्दा उनले ‘माथि सोध्नु’ भन्दै पन्छिन खोजे ।
उक्त निर्णय सञ्चारमाध्यममा सार्वजनिक भइसकेपछि पनि प्रदेशका मुख्य निर्वाचन अधिकृतले ‘आधिकारिक जानकारी नभएको’ बताएका छन् । आयोगले आजै उक्त निर्णयबारे सम्बन्धित उम्मेदवारलाई पत्रमार्फत जानकारी गराइसकेको छ । पत्रअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत धनुषा–१ बाट दर्ता भएको उम्मेदवारी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) बमोजिम अयोग्य ठहर गर्दै निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ (२) अनुसार खारेज गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ले प्रतिनिधिसभा सदस्य हुन अयोग्य हुने व्यक्तिहरूको सूची (अयोग्यताका आधारहरू) तोकेको छ । दफा १३ को खण्ड (ज) मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेको व्यक्ति सो अवधिभर (कालोसूचीमा परेको अवधिसम्म) उम्मेदवार हुन अयोग्य हुने उल्लेख छ ।
रास्वपाले विवादितरुपमा साहलाई यस क्षेत्रबाट टिकट दिएको थियो । उनी कालोसूचीमा रहेको विषय सञ्चारमाध्यमहरुमा केही दिन अगाडिदेखि आइरहेको थियो । कर्जा सूचना केन्द्रको रेकर्डअनुसार उनी २०८० वैशाखदेखि कालोसूचीमा छन् । उनीमाथि १ करोड २५ लाख रुपैयाँको चेक बाउन्स र १२ करोड रुपैयाँ बराबरको पुल निर्माण आयोजना सात वर्षदेखि अलपत्र पारेको आरोप छ ।
साहले रास्वपा प्रवेश गरेकै दिन टिकट पाएका हुन् । त्यसअघि उनी जनमतमा थिए । साहको राजनीतिक पृष्ठभूमि भने एमालेबाट सुरु भएको हो । उनी २०७४ सालको निर्वाचनमा धनुषा १ (क) बाट एमालेको प्रवेशसभा उम्मेदवार बनेर जित हासिल गरे । २०७९ सालमा एमालेबाट टिकट नपाएपछि जनमत प्रवेश गरेर प्रतिनिधिसभा उम्मेदवार बने । तर, तेस्रो स्थानमा रहँदै पराजित भए । जनमतबाट फेरि टिकट पाउने अवस्था नदेखेपछि अहिले फेरि चुनावको मुखमा रास्वपा प्रवेश गरेर टिकट हत्याएका थिए ।
साहको उम्मेदवारी रद्द भएपछि यो क्षेत्रमा रास्वपा प्रत्यक्षतर्फ प्रतिस्पर्धी रहेन । यस क्षेत्रमा अब एमाले, कांग्रेस, नेकपा, राप्रपा र जनमतबीच प्रतिस्पर्धा हुने छ । एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट राम पल्टन साह, नेकपाबाट मातृका यादव, राप्रपाबाट मनोज मल्ल ठकुरी र जसपाबाट दीपक कार्की उम्मेदवार छन् ।












