काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले) प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न प्रदर्शन गर्न लागिएको बताएका छन् । उनले एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन पनि अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।’
पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ सचिव बस्नेतले लेखेका छन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा निरिह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुस्ख लाग्छ,’ उनले लेखेका छन् ।












