शिवसताक्षी ।  सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने तथा फिर्ती आप्रवासीलाई स्थानीय तहमा पुनःस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित शिवसताक्षी नगरपालिका वडा नं. ७ ब्याङडाँडामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मिसियो म्युनिखको आर्थिक सहयोग र शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

श्री चेतना माध्यमिक विद्यालयको हलमा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य, फिर्ती आप्रवासी तथा नवगठित आप्रवासी सञ्जाल समूह (बैंकडाँडा IPM कृषक पाठशाला) का २५ सदस्यसहित करिब ६० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, विदेशमा रहँदा सुरक्षित रहने उपाय, श्रम स्वीकृति, सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोजगारीका क्रममा आउने समस्याहरू समाधानका लागि नेपाल सरकारका निकायहरूको भूमिकाबारे जानकारी दिइएको थियो।

साथै, स्वदेशमै स्वरोजगारमूलक कार्यमा लाग्न प्रेरित गर्दै, वैदेशिक रोजगारीमा जानै परेमा सीप सिकेर दक्ष जनशक्ति बनी आवश्यक प्रक्रिया पूरा गरेर मात्र अघि बढ्न आग्रह गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित आप्रवासनबारे नचेतना अभिवृद्धि गर्नु र सम्भावित आप्रवासीलाई ठगी तथा जोखिमबाट जोगाउनु रहेको परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले बताउनु भयो ।

कार्यक्रम वडा नं. ७ का परियोजना सल्लाहकार समिति सदस्य मणि माझीको अध्यक्षतामा तथा वडा सदस्य बिजुल प्रसाद लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वर्ण बहादुर लिम्बु, प्रधानाध्यापक दीपक न्यौपाने, विद्यालय व्यवस्थापन समिति सदस्य गंगाराम भट्टराईलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक विदुर तिम्सिनाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0