शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जारी मेयर कप २०८२ अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलबाट वडा नं. १ र वडा नं. ८ फाइनलमा प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनल खेलमा वडा नं. १ ले वडा नं. १० लाई ट्राइबेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १ का खेलाडी संगम लावती ‘म्यान अफ दि म्याच’ घोषित भए।
यस्तै, दोस्रो सेमिफाइनल खेलमा वडा नं. ८ ले वडा नं. ९ लाई ट्राइबेकरमा हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। सो खेलमा वडा नं. ८ का रोहित बस्नेत ‘म्यान अफ दि म्याच’ घोषित भएका छन्।
आयोजकका अनुसार शनिबार कराँते र ब्याडमिन्टन विधाका खेलहरू सञ्चालन हुनेछन्। कराँते प्रतियोगिता आदिवासी जनजाति भवन, दूधेमा तथा ब्याडमिन्टन प्रतियोगिता झिलझिले कभर्डहलमा आयोजना गरिनेछ।
फुटबलतर्फको फाइनल खेल भने आइतबार (२२ गते) दिउँसो आयोजना हुने कार्यक्रम रहेको छ, जहाँ उपाधिका लागि वडा नं. १ र वडा नं. ८ बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा फुटबलतर्फ विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ४५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भलिबलतर्फ विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् भने क्रिकेटतर्फ विजेताले ५० हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।












