शिवसताक्षी । झापाको शिवसताक्षीस्थित सतासीधाम सामुदायिक वन उपभोक्ता समूह ले आफूविरुद्ध सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा प्रकाशित ‘आर्थिक अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समूहले झिलझिलेस्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै आरोपहरू पूर्णतः सत्यतथ्यहीन, भ्रामक र नियोजित भएको दाबी गरेको हो। शिवसताक्षी–८ र माइ नगरपालका ८ क्षेत्र समेटिएको उक्त समूहले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता लाञ्छनापूर्ण अभिव्यक्तिहरूको कडा शब्दमा खण्डन गरेको छ।

गत चैत १४ गते सम्पन्न २७औँ साधारण सभाको सन्दर्भमा पूर्वअध्यक्ष हेमबहादुर थापा, निवर्तमान उपाध्यक्ष श्याम बुढाथोकी तथा वडा सदस्य रीता थापाले वर्तमान कार्यसमिति र वन कर्मचारीको मिलेमतोमा अनियमितता भएको आरोप लगाएका थिए। तर समूहले ती आरोप व्यक्तिगत प्रतिशोध र अदालती निर्णयबाट बच्न खोजिएको रणनीति मात्र भएको जनाएको छ।

समूहका अनुसार पूर्वअध्यक्ष थापा र उपाध्यक्ष बुढाथोकीविरुद्ध वन क्षेत्रभित्र अवैध रूपमा रुख कटान गरी वन हानि–नोक्सानी गरेको अभियोगमा डिभिजन वन कार्यालय इलाम मा मुद्दा दर्ता भएको थियो, जसमा इलाम जिल्ला अदालत ले उनीहरूलाई दोषी ठहर गरिसकेको छ।

समूहका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले वर्तमान कार्यसमिति, लेखा समिति, सल्लाहकार समिति तथा वन कार्यालयलाई समेत मुछ्दै लगाइएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो। उहाँले व्यक्तिगत आक्रोशका आधारमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना फैलाउनु गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्नुभयो।

लेखा संयोजक रविकिरण राईका अनुसार पूर्वअध्यक्ष थापाको कार्यकालमा श्रमिकहरूको ज्याला भुक्तानी नगरी झुटा बिल प्रस्तुत गरिएको पाइएपछि लेखापरीक्षण प्रतिवेदनले रु. ११ लाख ७४ हजार १५५ बेरुजु देखाएको छ। साथै, अघिल्लो कार्यसमितिले दायर गरेको मुद्दामा झापा जिल्ला अदालत ले वर्तमान कार्यसमितिकै पक्षमा फैसला गरेको जानकारी दिइएको छ।

समूहका सल्लाहकार संयोजक ज्ञानेन्द्रबहादुर न्यौपानेले पूर्ववर्ती कार्यसमितिले आफ्ना कमजोरी ढाकछोप गर्न वर्तमान समितिमाथि आरोप लगाएको दाबी गर्नुभयो। उहाँले वर्तमान समिति वन ऐन, निर्देशिका र समूहको विधानअनुसार पारदर्शी ढंगले सञ्चालन भइरहेको बताउँदै इच्छुक उपभोक्ताले कार्यालयमै आएर आर्थिक विवरण अवलोकन गर्न सक्ने स्पष्ट पार्नुभयो।

समूहले वन कर्मचारीमाथि लगाइएका आरोपप्रति दुःख व्यक्त गर्दै प्राविधिक सहयोगका लागि वन कार्यालयप्रति आभार प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0