शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित बोलोचोकमा सुविधा सम्पन्न नवनिर्मित पाँचगाछी स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रूपमा स्वास्थ्य चौकी उद्घाटन गरेका हुन्।
स्वास्थ्य चौकी दुई चरणमा गरी भ्याटसहित ९१ लाख ३३ हजार २५६ रुपैयाको लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । स्वास्थ्य चौकीमा नौ वटा रुम रहेका छन् जसमा विभिन्न विभागगीय शाखाहरुको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख थोप्राले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकी निर्माण गरिएको बताउँदै आवश्यक उपकरण तथा ल्याब सामग्री व्यवस्थापनपछि पूर्ण सेवा सञ्चालनमा आउने जानकारी दिनुभयो। उहाँका अनुसार यस क्षेत्रको बढ्दो आवश्यकता सम्बोधन गर्न आगामी दिनमा शिवगञ्ज नगर अस्पताल सञ्चालनको तयारी पनि भइरहेको छ।
वडा नं. ४ का अध्यक्ष विष्णुप्रसाद प्रसाईले यसअघि सानो भवनबाट सेवा दिइँदै आएको स्वास्थ्य चौकी अब नयाँ संरचनाबाट सञ्चालन हुँदा सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय मेजवानी ताजपुरिया परिवारले ७ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए भने स्वास्थ्य चौकी जाने बाटोका लागि जयनारायण ताजपुरियाले जग्गा दिएका थिए। कार्यक्रममा दुवै जग्गादाता परिवारलाई सम्मान गरिएको थियो। साथै स्थानीयवासीहरूले नयाँ स्वास्थ्य चौकी सञ्चालनले स्वास्थ्य सेवामा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय कल्पना चम्लागाई, कचाली ताजुरिया, राजु श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।












