✍️राजेश खड्का

नेपालका उकालो–ओरालो, हिमालका कठिन पदमार्गहरू केवल साहसिक यात्राका लागि मात्र होइन, कहिलेकाहीँ जीवनकै सबैभन्दा सुन्दर सम्बन्धको सुरुवात हुने स्थान पनि बन्न सक्छन्। यस्तै एक सजीव उदाहरण हो—नेपाली भरिया सुनिल र बेलायती डाक्टर एमा (Ema) बीचको प्रेम कथा, जसले अहिले विश्वभरका मानिसहरूको ध्यान खिचिरहेको छ।

हिमाल आरोहणको सपना बोकेर नेपाल आएकी एमाको भेट एक अत्यन्तै सरल , इमान्दार र जिम्मेवार भरिया सुनिलसँग हुन्छ।त्यसपछि दुवैको आपसी संवाद र सहमति प्रश्चात दुवै पुर्व निर्धारित गन्तव्यतर्फ प्रस्थान गर्छन। यात्राको सुरुवातमा उनीहरूबीचको सम्बन्ध केवल काम र कर्तव्यमा सीमित हुन्छ—सुनिल एमा को भारी बोक्ने, बाटो देखाउने र सुरक्षित यात्रा सुनिश्चित गर्ने। तर समयसँगै, त्यो सम्बन्धमा न्यानोपन थपिन थाल्छ।

कठिन बाटो, थकानले भरिएका दिन, अनि शान्त हिमाली रातहरू—यी सबैले उनीहरूलाई एक–अर्कालाई बुझ्ने अवसर दिन्छ। सुनिलको सरलता, इमानदारी र सहयोगी स्वभावले एमा गहिरो रूपमा प्रभावित हुन्छिन। अर्कोतर्फ, एमा को नम्रता र सम्मानजनक व्यवहारले सुनिलको मनमा पनि विशेष स्थान बनाउन सफल हुन्छ। शब्दभन्दा परको भावना उनीहरूबीच विस्तारै माया बनेर झाङ्गिन पुग्छ।

केही समय नेपालमा बिताएपछि एमा आफ्नो देश बेलायत फर्किइन्। भौगोलिक दूरी बढ्यो, तर मनको भावनात्मक दूरी कहिल्यै बढेन बरु झन झन नजिक बन्दै गयो। आधुनिक प्रविधिको सामाजिक सन्जालको माध्यमबाट उनीहरूको संवाद निरन्तर रहिरह्यो। समय, दूरी र परिस्थितिका चुनौतीहरू पार गर्दै उनीहरूको सम्बन्ध अझ बलियो बन्दै गयो।

अन्ततः, आपसी समझदारी र दृढ विश्वासका साथ एमा ले बेलायतको कानुनी प्रक्रिया पूरा गर्दै सुनिललाई आफ्नै देशमा ल्याउने निर्णय गरिन्। सुनिलले पनि आफ्नो तर्फबाट सबै तयारी पुरा गरे। अनेक चुनौती पार गर्दै, उनीहरू पुनः एकै ठाउँमा मिले—यसपटक सधैंका लागि।

आज उनीहरू बेलायतमा सँगै सुखद जीवन बिताइरहेका छन्। उनीहरूको कथा केवल प्रेमको कथा मात्र होइन, यो विश्वास, समर्पण र संस्कृतिबीचको पुलको कथा हो।

यसबाट यो सन्देश पाइन्छ कि ,साँचो प्रेमभाषा, देश, वर्ग वा पेशामा सीमित हुँदैन। यदि भावना साँचो छ भने, संसारको जुनसुकै कुनाबाट पनि दुई आत्माहरू एक हुन सक्छन्। सुनिल र एमा को कथा हरेक प्रेमिल जोडीका लागि प्रेरणा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0