भद्रपुर । ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेपछि उपाधि भिडन्त तय भएको हो।
भद्रपुरमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले उत्कृष्ट प्रदर्शन गर्दै चर्च ब्वाइजलाई सहज रूपमा पराजित गर्यो। खेलको ३४औँ मिनेटमा एपिएफले पहिलो गोल गर्दै अग्रता लिएको थियो। कुसुम खतिवडाले दिएको क्रस पास कप्तान अनिता बस्नेतलाई टच हुँदै मैदानमा होल्ड भएको बललाई रश्मिकुमारी घिसिङले जाली चुमाएकी थिइन्।
पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप दुई गोल गर्यो। ४९औँ मिनेटमा रश्मिकुमारी घिसिङको पासमा कप्तान अनिता बस्नेतले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। त्यसपछि ६२औँ मिनेटमा अनिता बस्नेतले मध्यभागबाट मिलाइदिएको पासलाई घिसिङले पुनः गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्।
जारी प्रतियोगितामा रश्मिकुमारी घिसिङको यो छैटौँ गोल हो। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन्।
खेलभर एपिएफले आक्रामक खेल प्रस्तुत गर्दा चर्च ब्वाइज युनाइटेड रक्षात्मक रणनीतिमा सीमित देखियो। उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी रेनुका नगरकोटी प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्ट्स एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब तथा ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। महिला फुटबलतर्फ यो पुरस्कार राशि नेपालकै सर्वाधिक मानिएको छ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।












