शिवसताक्षी । नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व तथा आदिकवि पुस्ताका चर्चित साहित्यकार मोतीराम भट्टको १६१ औँ जन्मजयन्तीको अवसरमा सताक्षीधाम साहित्य संगमले गजल वाचन तथा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा विभिन्न साहित्यकार, कवि–कवयित्री तथा साहित्यानुरागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मोतीराम भट्टको साहित्यिक योगदान, जीवनयात्रा तथा उहाँद्वारा सिर्जित विभिन्न कृतिहरूका विषयमा चर्चा–परिचर्चा गरिएको थियो।
सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता तथा सचिव यादवप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ गजलकार विवश बलिभद्र कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै वरिष्ठ छन्दवादी कवि बिन्दु दाहाल ‘मुकदर्शक’ तथा गजलकारद्वय गणेश पराजुली र अभागी थेगुवा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा ४० भन्दा बढी कवि–कवयित्री तथा साहित्यकारहरूको सहभागिता रहेको थियो। सहभागी स्रष्टाहरूले गजल तथा कविता वाचन गर्दै नेपाली साहित्य, समाज, प्रेम, जीवन, प्रकृति तथा समसामयिक विषयवस्तुलाई आफ्ना रचनामार्फत प्रस्तुत गरेका थिए।
साहित्यिक कार्यक्रममा सहभागी अतिथिहरूले नेपाली साहित्यको विकास र संरक्षणका लागि नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले साहित्य समाजको चेतना, संस्कार र संवेदनालाई अभिव्यक्त गर्ने सशक्त माध्यम भएकाले स्रष्टाहरू निरन्तर सिर्जनामा लाग्नुपर्ने धारणा राख्दै आफ्ना रचनासमेत प्रस्तुत गरेका थिए।
वाचन गरिएका सम्पूर्ण रचनामाथि समालोचक भीम दाहालले टिप्पणी तथा समालोचना गर्नुभएको थियो। उहाँले रचनाका सकारात्मक पक्ष, भाषिक सौन्दर्य, भाव, शिल्प तथा प्रस्तुतिका विविध पक्षमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यिक सिर्जनालाई अझ परिष्कृत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा हरि पराजुली, अश्विन धिताल, नारदमणि न्यौपाने, अनिल आचार्य, सन्तोष लावती, शारदा बजगाईँ, लोकमणि गौतम, श्रीप्रसाद खरेल, यादवप्रसाद घिमिरे, नारायण भट्टराई, वीरेन्द्र बस्नेत, क्षितिज मैनाली, तनुजा खतिवडा लगायतका स्रष्टाहरूले आफ्ना गजल तथा कविता प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले कार्यक्रममा सहभागी सम्पूर्ण साहित्यकार, कवि–कवयित्री, अतिथि तथा साहित्यानुरागीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफ्नै शृङ्गारिक गजल प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।
नेपाली साहित्यमा गजल विधाको विकास, विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका मोतीराम भट्टको १६१ औँ जयन्तीका अवसरमा आयोजित यस कार्यक्रमले साहित्यिक सिर्जना र विमर्शका लागि स्थानीय स्तरमा महत्वपूर्ण वातावरण निर्माण गरेको आयोजकको भनाइ छ।












