झापा । राष्ट्रिय सूचना प्रविधि दिवस (आईसिटी डे मे २)–को अवसरमा आज झापामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ नारा दिएर मनाइएको यस दिवसमा झापाका महिला उद्यमीहरुका लागि डिजिटल मार्केटिङ तथा एआई सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
फेडरेशन अफ कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) झापाको आयोजनामा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा आयोजित तालिममा तीन दर्जनभन्दा बढी उद्यमी महिलाहरुको सहभागिता थियो । तालिमको सहजीकरण पत्रकार उमाकान्त खनाल र प्रथम आईटीका विजनेश एक्जुकेटिभ सुरज चिमरियाले गर्नुभएको थियो ।
तालिम उद्घाटन शत्रमा क्यान महासंघ कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे र क्यान महासंघ केन्द्रका निवर्तमान सचिव भुपेन्द्र मैनालीले राष्ट्रिय सूचना प्रविधि दिवस (मे २) को सन्दर्भसँगै क्यान महासंघका कामहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

तालिममा उद्यमशील महिलाहरुले आफ्नो व्यवसाय प्रवर्धन गर्न डिजिटल मार्केटिङ कसरी गर्न सकिन्छ भनी विभिन्न सीप सिकाइएको थियो । यसैगरी एआईको सहायता लिएर कसरी विज्ञापन बनाउने, उक्त सन्देश लक्षित धेरै उपभोक्तासम्म पुर्याउन अवलम्बन गर्नुपर्ने सीप सिकाईको थियो ।
तालिम पछि महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष शर्मिला अधिकारी र अर्की उद्यमी एलिना रिजालले तालिमको सटिक टिप्पणी गर्नुभएको थियो । उहाँहरुले यस्तो लाभदायी तालिम लिन पाएकोमा आफूहरुलाई धन्य ठान्नु भयो ।
महासंघ झापाका उपााध्यक्ष लोकनाथ खनालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आमन्त्रित सहभागीहरुलाई क्यान महासंघ झापाका सदस्य गोपाल काफ्लेले शाब्दिक स्वागतसहित कार्यक्रमको आवश्यकता र औचित्य प्रष्ट्याउनु भएको थियो ।












