शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग, शिवसताक्षी नगरपालिकासँगको सहकार्य तथा समन्वयमा कारितास नेपालद्वारा सञ्चालित “सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजना” अन्तर्गत तेस्रो वर्षमा जीविकोपार्जन हस्तान्तरण तथा उद्यमशीलता विकास कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको छ।

नगरपालिकाका वडा नम्बर १, ४, ७, ८ र ११ मा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त परियोजनाले वैदेशिक रोजगारीमा असफल भई फर्किएका, ठगी वा मानव बेचबिखनमा परेर स्वदेश फर्कन सफल भएका तथा आर्थिक रूपमा विपन्न र न्यून स्रोत भएका व्यक्तिहरूलाई लक्षित गर्दै आएको छ। साथै, नेपालमै बसेर पुनः स्थापना भई उद्यमशीलता कार्यमा लाग्न इच्छुक, स्पष्ट योजना र काम गर्ने इच्छाशक्ति भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ।

परियोजनाअन्तर्गत छनोट भएका लाभग्राहीलाई उनीहरूको सीप र इच्छाअनुसार प्रतिव्यक्ति ५० हजार रुपैयाँ बराबरको सामग्री तथा पशुधन वितरण गरिएको छ। कार्यक्रमको उद्देश्य व्यवसाय सुरु गराई आत्मनिर्भर बनाउने र उद्यमशीलतातर्फ प्रेरित गर्नु रहेको छ।

परियोजनाको कार्यान्वयन प्रक्रियाअनुसार सम्बन्धित वडाका अध्यक्षको संयोजनमा गठन गरिएको परियोजना सल्लाहकार समितिले मापदण्ड पुगेका व्यक्तिहरूको नाम सिफारिस गर्दछ। त्यसपछि कारितास नेपालका प्रतिनिधिहरूले घरमै पुगेर स्थलगत अवलोकन तथा अन्तर्वार्ता लिएपछि अन्तिम छनोट गर्ने व्यवस्था रहेको परियोजना परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिनुभयो।

उहाँका अनुसार अघिल्ला वर्षहरूमा पाँच वडाबाट ३५ जना र चालु वर्षमा थप १५ जना गरी कुल ५० जना लक्षित गरिएकोमा हालसम्म ३९ जना लाभग्राहीले अनुदान प्राप्त गरिसकेका छन् भने बाँकी ११ जनाका लागि सामग्री खरिद प्रक्रिया जारी रहेको छ।

यसैक्रममा आज वडा नम्बर ११ र ७ मा सम्बन्धित वडाध्यक्ष, परियोजना सल्लाहकार समिति सदस्य, जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा दुई–दुई जना गरी जम्मा चार जना लाभग्राहीलाई गाई हस्तान्तरण गरिएको छ।

परियोजनाले वैदेशिक रोजगारीका जोखिमबाट प्रभावित नागरिकहरूको पुनःस्थापना, आयआर्जन वृद्धि तथा मानव बेचबिखन नियन्त्रणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0