चलचित्रबाट पर्यटन प्रवर्द्धन सम्भव: पर्यटन कार्यालय प्रमुख खतिवडा
झापा । चलचित्र क्षेत्रले पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका खेलिरहेको भन्दै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले नेपालले पनि फिल्ममार्फत पर्यटन विकासको रणनीति अपनाउनुपर्ने बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशीद्वारा शुक्रबार बिर्तामोडमा आयोजित ‘चलचित्र, पर्यटन र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सिक्किममा संस्कृति मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी हुँदाको अनुभव सुनाउँदै खतिवडाले चलचित्र र पर्यटनबीचको सम्बन्धलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार १९ देशको सहभागिता रहेको उक्त कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) स्वयं सक्रिय भएर चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने अभ्यासमा जुटेको देखिएको थियो । “हामीले पनि चलचित्रलाई मनोरञ्जनमा मात्रै सीमित नगरी पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन भाषागत पहुँच आवश्यक रहेको बताउँदै उहाँले विदेशी भाषामा डबिङ वा सबटाइटल प्रयोग गर्न सके नेपालको पर्यटन प्रचारमा ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो । राष्ट्रको आर्थिक समृद्धिका लागि पर्यटन प्रमुख आधार भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रलाई पर्यटनमा आकर्षित गर्न तथा पर्यटन नीतिमा सुधार ल्याउन सरकारस्तरमा पछिल्लो समय गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो ।
खतिवडाले नेपाल समृद्धिको मुख्य आधार कृषि आधुनिकीकरण, पर्यटन विकास, जलस्रोतको सदुपयोग र डिजिटल क्षेत्रको विस्तार भएको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले चलचित्र क्षेत्र राज्यको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो । चलचित्र विकास बोर्डसमेत पर्याप्त सरकारी लगानीबिना सञ्चालन हुनुपरेको उल्लेख गर्दै उहाँले चलचित्र क्षेत्रमा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताउनुभयो । भारतको सिक्किम, बंगाल, आसाम, मेघालय र भुटानजस्ता क्षेत्रमा नेपाली चलचित्रको बजार विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
नेपाल चलचित्रकर्मी संघका केन्द्रीय सदस्य मिजास पोखरेलले नेपाली फिल्म उद्योगले वार्षिक २ सय करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको तथ्य प्रस्तुत गर्दै त्यसको करिब ५३ प्रतिशत हिस्सा नेपाली चलचित्रकै रहेको बताउनुभयो । “दर्शकले नेपाली कथावस्तु मन पराइरहेका छन्, अब हाम्रो सिनेमालाई ग्लोबल टुरिजमसँग जोड्ने समय आएको छ,” उहाँले भन्नुभयो ।
नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सदस्य युवराज गिरीले चलचित्र निर्माणले आन्तरिक पर्यटन र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्याइरहेको बताउनुभयो । एउटा फिल्म निर्माणका क्रममा ५०–६० जनाको टोली विभिन्न स्थानमा पुग्ने भएकाले त्यसले स्थानीय अर्थतन्त्र र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

चलचित्र पत्रकार संघ नेपालका कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतले चलचित्र पत्रकारिता केवल फिल्ममा सीमित नभई कला, साहित्य, भाषा र पर्यटनसँग समेत जोडिएको बताउनुभयो । कोशी प्रदेश अध्यक्ष वीरेन्द्रकुमार साहले प्रदेशमा चलचित्र निर्माण गतिविधि बढ्दै गएको उल्लेख गर्दै सरकारले चलचित्र र पर्यटनलाई जोड्ने विशेष नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा संघको कोशी प्रदेश समिति सदस्यमा मनोनित सुनिरा मैनाली र शिव भट्टराईलाई प्रमाणपत्र प्रदान गरिएको थियो । अतिथिहरूलाई मायाको चिनोस्वरूप ‘चलचित्र पत्रकार’ तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘त्यो झापा’ पुस्तक समेत वितरण गरिएको थियो ।
संघका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल फिल्म सोसाइटी कोशी अध्यक्ष देवीभक्त श्रेष्ठ, पर्यटन पत्रकार मञ्च झापा अध्यक्ष विनोद पाण्डे, चलचित्र पत्रकार संघ इलाम अध्यक्ष अतित योङहाङ, सुनसरी अध्यक्ष सुवास संकल्प श्रेष्ठ, वीरता जेसीज अध्यक्ष एलसी श्रेष्ठलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
संघका झापा अध्यक्ष एकराज प्रधानले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष प्रदीप परियार, नयाँ पेपरका अध्यक्ष निर्मलराज खत्री तथा नाटा वरिष्ठ उपाध्यक्ष शेखर ढकाललगायतको उपस्थिति रहेको थियो ।












