शिवसताक्षी ।  झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ बैंकडाँडामा एकदिवसीय वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित “सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सशक्तीकरण परियोजना” अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै फिर्ती आप्रवासीहरूलाई स्थानीय स्तरमै पुनःस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कारितास नेपालले जनाएको छ।

तालिममा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य, फिर्ती आप्रवासी, नवगठित आप्रवासी सञ्जाल समूह व्याङ्गडाँडा आइपिएम कृषक पाठशाला” का सदस्य तथा श्री भगवती माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

परियोजना परिचालक चिरञ्जीवी लुइँटेलका अनुसार कार्यक्रममा सहभागीहरूलाई बचत गर्ने बानीको विकास, आवश्यकता र इच्छाबीचको फरक पहिचान, पारिवारिक बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, रेमिटेन्स व्यवस्थापन तथा उत्पादनशील क्षेत्रमा लगानीका विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई पनि प्रारम्भिक अवस्थादेखि नै फजुल खर्च नियन्त्रण गर्दै बचत गर्ने बानी विकास गर्न प्रेरित गरिएको थियो। बचतले भविष्यमा अध्ययन, व्यक्तित्व विकास तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने विषयमा समेत जानकारी गराइएको थियो।

सहजकर्ता लोकप्रिय खनालले “जति कमाए पनि बचत गर्न सकिएन भने आवश्यक पर्दा आर्थिक समस्या आउन सक्छ, त्यसैले बचत अनिवार्य छ” भन्ने सन्देशसहित सहभागीहरूलाई स्वरोजगार र उद्यमशीलतातर्फ प्रेरित गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थी तथा समूह सदस्य गरी ७७ जनाको सहभागिता रहेको थियो। वडा नं. ७ स्थित श्री भगवती उच्च माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रम वडा नं. ७ का परियोजना सल्लाहकार समिति सदस्य स्वर्णबहादुर लिम्बुको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक रमेश दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0