मेचीनगर । नेपाल बुद्धिचाल महासंघको केन्द्रमा सल्किएको आन्तरिक विवादको आगोले काँकडभिट्टामा सोमवारदेखि सुरु हुने भनिएको राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपको उद्घाटन नै रोकिदिएको छ ।
खानेपानी कार्यालयको सभाहल सिंगारिएको थियो, स्थानीय आयोजक नाइटचेस क्लबले बिछ्याएका चेसबोर्डहरू खेलाडीको प्रतिक्षामा थिए । तर, आयोजक महासंघभित्रको कुर्सीको लडाइँले जेठ ११ देखि १५ सम्म चल्ने भनिएको यो कडा प्रतिस्पर्धाको पहिलो दिनमै खेलाडीहरू अन्योलमा परे ।
२६ औं पुरुष तथा ११ औं महिला च्याम्पियनशीपको ढोका खोल्ने यो प्रतियोगिताका लागि देशैभरबाट सयभन्दा बढी उदाउँदा र नामुद खेलाडीहरू सीमावर्ती सहर काँकडभिट्टा ओर्लिएका थिए ।
गोजीको पैसा हालेर, बस्ने, खाने खर्च आफैं व्यहोर्ने गरी उत्साहका साथ आएका खेलाडीहरू खेल सुरु नभएपछि निराश र बिलखबन्दमा परेका छन् । यहाँबाट छनोट हुने शीर्ष १० पुरुष र १० महिला खेलाडीले राष्ट्रिय मञ्चमा भिड्ने सुनौलो अवसर पाउने थिए ।
स्थानीय संयोजन गरिरहेको नाइटचेस क्लब काँकडभिट्टाका महासचिव राजेश राउतले केन्द्रीय राजनीतिको मार खेलमा परेकोमा दुखेसो पोख्नुभयो । “हामीले मैदान र मञ्च दुवै तयार पारेका थियौं,” उहाँले भन्नुभयो – “तर, आयोजक महासंघको केन्द्रीय समितिभित्रै चर्को विवाद निम्तिएपछि उद्घाटन नै रोकियो ।”
बुझिएअनुसार, महासंघका अध्यक्षसहितका पदाधिकारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि केन्द्रीय राजनीति गर्माएको छ । यतिबेला विवाद सुल्झाउन हेटौंडामा केन्द्रीय नेताहरूको काउन्टर अट्याक र वार्ता चलिरहेको छ ।
यद्यपि, खेलाडीको भविष्य र खेल भावनालाई मध्यनजर गर्दै स्थानीय आयोजकले आश मारेका छैनन् । हेटौंडाको छलफल सकारात्मक मोडमा पुग्ने विश्वासका साथ मंगलबारदेखि नै प्रतियोगिताको उद्घाटन र खेलहरू सुरु गर्ने तयारी भइरहेको महासचिव राउतले जानकारी दिनुभयो ।
केन्द्रीय पदाधिकारीको इगोको लडाइँमा देशकै ‘दिमागको खेल’का सारथीहरू यसरी बन्धक बन्नु खेलकुद क्षेत्रकै लागि विडम्बनापूर्ण बनेको छ ।












