शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा फिर्ती आप्रवासीहरूलाई स्थानीय स्तरमै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यसहित सञ्चालन गरिएको सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजना अन्तर्गत एकदिने सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कारितास नेपालद्वारा सञ्चालित उक्त कार्यक्रम आज शिवसताक्षी नगरपालिका–२, मंगलबारेस्थित श्री मोती माध्यमिक विद्यालयको भवनमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, स्थानीय समुदायका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य स्वदेशमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जानै परे सीप सिकेर दक्ष जनशक्ति बनी नेपाल सरकारले तोकेका सबै मापदण्डको पालना गर्दै सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान प्रोत्साहित गर्नु रहेको थियो। साथै वैदेशिक रोजगारीका क्रममा कसैबाट ठगिन नपरोस् भन्ने विषयमा समेत सहभागीहरूलाई सचेतना प्रदान गरिएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा प्रस्थान गर्नुअघि अपनाउनुपर्ने सावधानी, विदेशमा रहँदा सुरक्षित रहने उपाय, स्थानीय तहअन्तर्गतका रोजगार सेवा केन्द्रले प्रदान गर्ने सेवाहरू, श्रम स्वीकृति, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोष तथा वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्याको समाधानका लागि नेपाल सरकारका नियामक निकायहरूको भूमिकाबारे जानकारी दिइएको थियो।

परियोजनाका सामाजिक परिचालक श्री चिरञ्जीवी लुइटेलका अनुसार स्वदेशमै उपलब्ध रोजगारी तथा स्वरोजगारका अवसरहरूको उपयोग गर्न प्रेरित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा ७३ जनाको सहभागिता रहेको थियो। वडा नं. २ का स्थानीय समाजसेवी तथा बुद्धिजीवी श्री बाबुलाल मर्डीको अध्यक्षता तथा श्री मोती माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री लोकबहादुर लावतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण श्री विवेक शिवाकोटीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0