शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका–८ स्थित वाटर किङ्गडम पार्कमा उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको हो।

साधारण सभामा संघका अध्यक्ष यामनाथ काफ्लेले संस्थाले वर्षभरि गरेका गतिविधि तथा उपलब्धिहरूसहितको वार्षिक कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष काफ्लेले आफू अस्वस्थ रहँदासमेत संस्थाले व्यवसायीप्रति आफ्नो दायित्व निर्वाह गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँले आगामी वर्षका लागि संघले सञ्चालन गर्ने योजना तथा कार्यक्रमबारे समेत जानकारी गराउनुभएको थियो।

यसैबीच, साधारण सभाले आगामी कार्यसमिति चयनका लागि सुमन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिको सदस्यमा लक्ष्मी ढकाल र लक्ष्मी गुरागाईं रहनुभएको छ।

संघका अध्यक्ष काफ्लेले आगामी २० दिनभित्र सदस्यता नवीकरणको प्रक्रिया सम्पन्न गरिने र त्यसपछि निर्वाचन समितिले निर्वाचनको मिति तय गर्ने जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल उपस्थित हुनुहुन्थ्यो। साथै, शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष विष्णु प्रसाई, समाजसेवी गोपाल ओली, परशुराम ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन संघका निरोज दुलालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0