शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडाभित्रका कृषकलाई सुपारीका बिरुवा वितरण गरेको छ। कृषि उत्पादन वृद्धि गर्दै कृषकलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयमा आयोजित एक कार्यक्रममार्फत १ हजार १७६ थान सुपारीका बिरुवा वितरण गरिएको हो।

बिरुवा वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष मनोज खुलाल कार्कीले कृषकको आयआर्जन वृद्धि तथा दीर्घकालीन आर्थिक सुदृढीकरणका लागि वडाले प्रत्येक वर्ष सुपारीका बिरुवा वितरण गर्दै आएको बताउनुभयो। उहाँले सुपारी खेतीलाई व्यवसायिक रूपमा विस्तार गर्न वडाले निरन्तर प्रोत्साहन गरिरहेको उल्लेख गर्दै कृषकको मागसमेत वर्षेनी बढ्दै गएको जानकारी दिनुभयो।

“सुरुआती चरणमा सीमित संख्यामा बिरुवा वितरण गरिएको थियो, तर अहिले सुपारी खेतीप्रति कृषकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ,” वडा अध्यक्ष कार्कीले भन्नुभयो, “यस वर्ष पनि कृषकको मागअनुसार नै बिरुवा उपलब्ध गराइएको हो।”

उहाँका अनुसार सुपारी खेतीले कृषकको आम्दानी बढाउनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याउने भएकाले यसलाई वडाले प्राथमिकताका साथ अघि बढाइरहेको छ। सुपारीका बोटले हरियाली प्रवर्द्धन, भू–क्षय नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

वडा सचिव शान्तिराम रिमालका अनुसार वडाको वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित ५० हजार रुपैयाँ बजेटबाट बिरुवा खरिद गरी कृषकलाई वितरण गरिएको हो। कृषि क्षेत्रको विकास तथा कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

कार्यक्रममा वडा सदस्य गोमा रिजालसहित वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव शान्तिराम रिमालले गर्नुभएको थियो।

स्थानीय कृषकहरूले वडाबाट प्राप्त सहयोगले सुपारी खेती विस्तार गर्न थप उत्साह मिलेको बताएका छन्। उनीहरूले यस्ता कृषि प्रवर्द्धन कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0