शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगर कार्यसमितिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विभिन्न विकास निर्माण तथा जनसरोकारका विषय समेट्दै शिवसताक्षी नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

नगर कार्यसमितिको तर्फबाट नगर प्रमुख मेगाहाङ थोप्रालाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगरको दीर्घकालीन विकास, आधारभूत सेवा विस्तार, सुशासन प्रवर्द्धन तथा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकताका साथ आगामी नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा सार्वजनिक सेवा सुधारसँग सम्बन्धित महत्वपूर्ण विषयहरू समेटिएका नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतले बताउनु भयो । उहाँले नगरवासीको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्दै जनमुखी तथा परिणाममुखी बजेट निर्माण गर्न नगरपालिकालाई आग्रह गरिएको जानकारी दिनुभयो ।

नगरभित्रको फोहोर व्यवस्थापन तथा दीर्घकालीन डम्पिङ साइटको व्यवस्था, औद्योगिक करिडोर स्थापना गरी स्थानीयस्तरमा रोजगारी सिर्जना, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा नगर अस्पताललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ। साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र आवश्यक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

त्यसैगरी कृषकलाई गुणस्तरीय मल, बीउ, सिँचाइ सुविधा तथा कृषि सामग्रीमा सहुलियत उपलब्ध गराउने, झिलझिले बसपार्कलाई शीघ्र सञ्चालनमा ल्याउने, सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउने तथा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि प्रभावकारी पहल गर्नुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

नगरभित्रका सडकहरूको स्तरोन्नति, बजेट कार्यान्वयन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने, स्थानीय सञ्चारमाध्यम, सामाजिक संघसंस्था तथा समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकता दिने विषयलाई समेत कांग्रेसले विशेष महत्वका साथ उठाएको छ।

ध्यानाकर्षण पत्रमार्फत कांग्रेसले सुशासन, पारदर्शिता, जवाफदेहिता, प्रभावकारी सेवा प्रवाह तथा दिगो विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्न आग्रह गरेको छ। यस्ता सुझाव कार्यान्वयन भए नगरवासीको जीवनस्तर सुधार हुनुका साथै समग्र नगरको आर्थिक तथा सामाजिक विकासले गति लिने विश्वास व्यक्त गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मेगाहाङ थोप्राले प्राप्त सुझावहरू सकारात्मक रहेको बताउँदै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा ती विषयहरूको अध्ययन गरी सम्भव भएसम्म समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरको समग्र विकास र नागरिकको अपेक्षा पूरा गर्ने गरी योजनाहरूलाई प्राथमिकता दिइने उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0