जन्तेढुंगा । खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. ३ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा जातीय विभेद तथा छुवाछुत उन्मूलन एवं दलित अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अरुणा देवी राई को प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनय निरौला, वडा नं. ३ का अध्यक्ष तारामान राई, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राई तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला राई को उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले जातीय विभेदमा परेका तथा पारिएका दलित र गैरदलित समुदायबीच आपसी समझदारी, समानता र सद्भाव कायम गर्दै विभेदरहित समाज निर्माण गर्ने उद्देश्यले विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले नयाँ मुलुकी ऐन २०२० ले छुवाछुत उन्मूलन गरिसकेको र नेपालको संविधानको धारा ४० ले दलित समुदायका हकअधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कानुनी व्यवस्था हुँदाहुँदै पनि समाजमा विभेद पूर्णरूपमा अन्त्य हुन नसकेको उल्लेख गर्नुभयो। यसै कारण जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।
उपाध्यक्ष खड्काले जन्मका आधारमा कुनै पनि व्यक्तिमाथि हुने भेदभाव कानुनविपरीत रहेको उल्लेख गर्दै श्रम र पेशाका आधारमा गरिने विभेद दण्डनीय अपराध भएको जानकारी दिन विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग तथा महिला एकता अध्ययन केन्द्र को आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य दुर्गा जयन्ती राई ले गर्नुभएको थियो। स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेत ले गर्नुभएको थियो।
कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधि, समाजसेवी, शिक्षक, आवासीय विद्यालयका विद्यार्थी लगायत ६० भन्दा बढीको सहभागिता रहेको थियो।
आयोजकका अनुसार स्थानीय तहमा जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि यसअघि चिसापानी नमुना माध्यमिक विद्यालयमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो भने आगामी दिनमा डम्बरखुमा क्षेत्रमा समेत कार्यक्रम विस्तार गरिनेछ।
यसैबीच, गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आवासीय विद्यालयमा अध्ययनरत ३० जना विपन्न वर्गका विद्यार्थीहरूको अवस्था तथा शैक्षिक प्रगतिबारे अध्यक्ष र उपाध्यक्षले अनुगमन समेत गर्नुभएको थियो।












