बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजना तथा सहयोगी समूह ललितपुरको संयोजन एवम् सहजीकरणमा बिर्तामोडमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ।
नगरपालिकाको प्रशासनिक कार्यलाई थप प्रविधिमैत्री र चुस्त बनाउने उद्देश्यका साथ यो तालिम आयोजना गरिएको हो । प्रथम आईटी सिस्टम प्रालिको तालिम कक्षमा सञ्चालन गरिएको उक्त तालिम दुई चरणमा विभाजन गरिएको थियो।
तालिमको पहिलो दिन बिर्तामोड नगरपालिकाका १० वटा वडाका वडासचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो भने दोस्रो दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, उपसचिव तिलचन भण्डारीसहित विभिन्न विभागीय प्रमुख एवम् कर्मचारीहरूको उपस्थिति थियो।
तालिममा गुगल जेमिनाई सर्टिफाइड एआई प्रशिक्षक उमाकान्त खनालले मुख्य सहजकर्ताको भूमिका निभाउनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले एआईको व्यावहारिक प्रयोग, एआईलाई दिइने कमाण्ड र यसको कार्यप्रणालीबारे विस्तृत जानकारी दिनुभयो । प्रयोगात्मक अभ्याससहित अन्तरक्रियात्मक तरिकाबाट सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरु लाभान्वित भएको प्रतिक्रिया पाइएको छ । यो तालिमपश्चात् बिर्तामोड नगरपालिकाको सेवा प्रवाह थप आधुनिक र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।
दिनभर लाग्ने कागजी कामलाई प्रविधिको मद्दतले छिनभरमै कसरी सम्पन्न गर्न सकिन्छ भन्नेबारे सिकाउँदै प्रशिक्षक खनालले भन्नुभयो एआईको सही प्रयोगले कार्यसम्पादन प्रतिवेदन तयार पार्न, प्रस्तुतीकरणका लागि पीपीटी बनाउन र विभिन्न कार्यक्रमका ब्यानरहरू डिजाइन गर्न निकै सहज र छिटो बनाउँछ।
आज कर्मचारीहरुले आफ्नो कामलाई सहज एवम् छिटो बनाउन एआईको भरपुर उपयोग गरिरहेको सन्दर्भ कोट्याउनु हुँदै प्रशिक्षक खनालले केही दिनको निरन्तर प्रयासले सहभागीहरुले पनि आफूलाई अब्बल बनाउन कुनै समस्या हुनेछैन भनी सुझाव दिनुभयो ।
तालिमको सुरुवाती चरणमा सहयोगी समूहका तर्फबाट कार्यक्रम संयोजक सरोज भट्टराईले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई शाब्दिक स्वागत गर्नुभएको थियो।
तालिम उद्घाटन समारोहमा प्रथम आईटी सिस्टम प्रालिका प्रबन्ध निर्देशक एवम् कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका पूर्व केन्द्रीय सचिव भुपेन्द्र मैनालीले प्रविधिको उच्चतम उपयोग गरेर आफ्ना अफिसियल कामहरु छिटो सम्पादन गर्न सक्षम बनाउने उद्देश्यले आयोजित तालिम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
दुई दिनसम्म चलेको उक्त विशेष प्राविधिक तालिमको सञ्चालन पत्रकार गोपाल काफ्लेले गर्नुभएको थियो।












