काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरुले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी दिए।
उनकाअनुसार नेताहरूले गगन थापा संयोजक रहँदा अद्यावधिक भएको पार्टी सदस्यताको विवरणलाई मान्यता दिएको खण्डमा एकता गर्ने नभए विकल्प खोज्नुपर्नेसमेत नेताहरूको तर्क छ।
नेता विश्वकर्माले बुधवारको बैठकमा १९ जना नेताहरूले धारणा राखेको जानकारी दिँदै अधिकांश नेताहरूले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको बताए।
उनले बैठकमा पार्टीको आन्तरिक विषयमा मात्र केन्द्रित नभई मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताए।
उनले लोकतान्त्रिक प्रणालीमाथि संकट बढ्दै गएको, संविधानका अंगहरूमाथि हस्तक्षेप भइरहेको तथा सरकारले संसदलाई छल्दै बाहिरबाट कानून निर्माण र शासन सञ्चालन गर्न खोजेको भन्दै यसतर्फ समेत छलफल केन्द्रित गर्नुपर्ने नेताहरुको धारणा रहेको बताए।












