झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका प्रमुख न्यायाधीश विपुल न्यौपानेले अनलाइन बहस प्रणालीले मुद्दाको सुनुवाइलाई सरल, छिटो र कम खर्चिलो बनाएको बताएका छन्।

झापा बार एसोसिएसनले उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरेको अवसरमा बोल्दै प्रमुख न्यायाधीश न्यौपानेले इलाम इजलासमा झापाबाट आउने मुद्दाको संख्या उल्लेखनीय रहेको बताए। उनले झापाबाट इलाम इजलासमा अनलाइन बहसको अभ्यास सुरु भइसकेको जानकारी दिँदै यसबाट कानुन व्यवसायी तथा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै पेशी स्थगित हुने क्रम पनि घटेको बताए।

उनले अनलाइन बहस प्रणालीले इलाम इजलासको मुद्दा फर्छ्योट लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै प्रविधिमैत्री न्याय प्रणालीलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

कार्यक्रमको अध्यक्षता झापा बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता चित्रबहादुर मगरले गरेका थिए भने सञ्चालन सचिव अधिवक्ता दीपेन्द्र भट्टराईले गरेका थिए। कार्यक्रममा सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले स्वागत मन्तव्य व्यक्त गरे।

कार्यक्रममा न्याय परिषद्को निर्णयअनुसार प्रमुख न्यायाधीश विपुल न्यौपाने उच्च अदालत तुलसीपुर, बुटवल इजलास, न्यायाधीश किरणकुमार पोखरेल उच्च अदालत पाटन, हेटौंडा इजलास, न्यायाधीश रेखा थापा पाण्डे उच्च अदालत जनकपुर, वीरगञ्ज इजलास तथा न्यायाधीश कालीबहादुर राई उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा भएको जानकारी गराइयो।

त्यसैगरी, इलाम इजलासमा न्यायाधीश नातिबाबु लामिछाने, सागर बिष्ट र श्यामकुमार विश्वकर्मालाई सरुवा गरी पठाइएको जानकारी पनि कार्यक्रममा दिइयो।

झापाली कानुन व्यवसायीहरूको साझा संस्था झापा बार एसोसिएसनले सेवा अवधि पूरा गरी सरुवा भएका न्यायाधीशहरूलाई सम्मानपूर्वक बिदाइ गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ। यस्ता कार्यक्रमले न्यायाधीश (बेञ्च) र कानुन व्यवसायी (बार) बीचको समन्वय, आपसी विश्वास तथा न्यायपालिकाको संस्थागत सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0