भद्रपुर । झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिक कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बुधबार बिहान करिब ११ बजे झापा कारागार कार्यालयबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर–९ निवासी ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। अस्पतालमा उपचारका क्रममा बिहान ११ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक दावा टुन्डु शेर्पाको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

दुर्घटनामा संलग्न कार चालक बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0