सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा निधन भएको हो।
‘मृत्यु भएको भन्ने खबर आएको छ। औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको जानकारी हामीले पाएका छौँ,’ सहायक सीडीओ बरालले भने।
घटनापछि सो क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ।
यसैबीच, जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।












