शिवसताक्षी । विश्व मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा शिवसताक्षी नगरपालिकामा आयोजित ‘मानव बेचबिखन जोखिमको पहिचान र सुरक्षित रहने उपायहरू’ विषयक निबन्ध लेखन तथा वाचन प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी झलेन्द्र मिश्र प्रथम भएका छन्।
बिहीबार शिवसताक्षी नगरपालिकाको कार्यालयमा सम्पन्न प्रतियोगितामा परियोजना लागू भएका पाँच वडा (१, ४, ७, ८ र ११) का आठ सामुदायिक माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा अन्य सात विद्यालयलाई पछि पार्दै राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगितामा लक्ष्मी नारायण माध्यमिक विद्यालयकी छात्रा सिदिक्षा राई द्वितीय तथा शुक्र माध्यमिक विद्यालयकी छात्रा दिपिका ताजपुरिया तृतीय भइन्।
विजेता विद्यार्थीहरूलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, कारितास नेपालका वरिष्ठ परियोजना अधिकृत हिमालयन अधिकारी तथा नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङ ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
“सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजना” अन्तर्गत कारितास नेपालले विश्व मानव बेचबिखनविरुद्धको दिवसको सन्दर्भ पारेर प्रतियोगिता आयोजना गरेको हो। परियोजना लागू भएका पाँच वडाका आठ सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागितामा प्रतियोगिता सम्पन्न गरिएको कारितास नेपालका सामाजिक परिचालक चिरञ्जीवी लुइँटेल ले जानकारी दिनुभयो।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्रा, लेखा शाखा प्रमुख प्रकाश योङहाङ तथा कारितास नेपालका वरिष्ठ परियोजना अधिकृत हिमालयन अधिकारीले मानव बेचबिखनविरुद्ध सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकृत छवि ढकाल, महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुली तथा रोजगार संयोजक विदुर तिम्सिना रहनुभएको थियो।












