भद्रपुर । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको जिम्मेवारी सम्हाल्न आउनुभएका प्रकाश राउतलाई बिहीबार औपचारिक रूपमा स्वागत गरिएको छ।
झापा जिल्ला अदालतमा दुई वर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलको सरुवा भएपछि राउत प्रमुख न्यायाधीशका रूपमा झापा आउनुभएको हो।
नवनियुक्त प्रमुख न्यायाधीश राउतलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला अदालतका न्यायाधीशहरू अम्बिका प्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, उषा श्रेष्ठ, नारायण रिमाल तथा डिल्लीप्रसाद आचार्यले स्वागत गर्नुभयो। साथै श्रेस्तेदार डिल्लीराम प्रसाई, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दीपेशप्रताप शाह तथा अदालतका कर्मचारीहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतका अनुसार झापा जिल्ला अदालतमा नौ जना न्यायाधीशको दरबन्दी रहेको छ भने सामान्यतया दुई–दुई वर्षको अवधिमा न्यायाधीशहरूको सरुवा हुने प्रचलन रहेको छ।
हालै न्याय परिषद्को निर्णयअनुसार झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलको काठमाडौं जिल्ला अदालतमा, न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको पर्सा जिल्ला अदालतमा तथा न्यायाधीश ऋतबहादुर पुलामी मगरको सिराहा जिल्ला अदालतमा सरुवा गरिएको थियो।
सोही निर्णयअनुसार प्रकाश राउत प्रमुख न्यायाधीशका रूपमा झापा आउनुभएको हो भने न्यायाधीश टेकनाथ गौतम र पुण्यप्रसाद सापकोटाको पनि झापा जिल्ला अदालतमा पदस्थापन भएको छ। सरुवा भएर आउनुभएका न्यायाधीश सापकोटालाई समेत सो अवसरमा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।












