गौरादह । झापाको गौरादह नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ।

नगरपालिकाले नगरको सभाहलमा एक कार्यक्रम आयोजना गरी ७ उत्कृष्ट विद्यालय, १२ सेवा निवृत्त तथा दीर्घ सेवा प्रदान गरेका शिक्षक, ६ उत्कृष्ट शिक्षक र २२ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो।

नगरपालिकाले उत्कृष्ट माध्यमिक विद्यालयतर्फ श्री जनता माध्यमिक विद्यालय गौरादह १, श्री माउण्ट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालय र श्री विद्यादेवी अंग्रेजी माध्यमिक विद्यालय, श्री इमिनेन्ट कञ्चजंघा अंग्रेजी माध्यमिक विद्यायललाई सम्मान गरेको छ।

त्यस्तै, आधारभूत तहतर्फ श्री दुर्गादेवी आधारभूत विद्यालय, श्री मदन आश्रित आधारभूत विद्यालय र श्री जनता आधारभूत विद्यालय गौरादह ६ लाई उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ। उत्कृष्ट विद्यालयलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत विदुर आचार्यले जानकारी दिनुभयो।

नगर शिक्षा अधिकृत आचार्यका अनुसार २०८२ सालको एसईई परीक्षामा ४ जीपीएसहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको हो।

कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत रही सेवा निवृत्त भएका तथा दीर्घ सेवा प्रदान गरेका १२ जना शिक्षकलाई समेत सम्मान गरिएको थियो।

त्यसैगरी, माध्यमिक तथा आधारभूत तहमा उत्कृष्ट जीपीए हासिल गर्ने २२ जना विद्यार्थीलाई जनही ९ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विभिन्न तहमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना शिक्षकलाई समेत नगदसहित सम्मान गरेको छ। जसअनुसार उत्कृष्ट कर्मचारी तथा बालशिक्षकलाई जनही ११ हजार, आधारभूत तह कक्षा १ देखि ५ सम्मका शिक्षकलाई जनही १२ हजार, कक्षा ६ देखि ८ सम्मका शिक्षकलाई जनही १३ हजार र कक्षा ९ देखि १२ सम्मका उत्कृष्ट शिक्षकलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

सम्मानित सबै शिक्षक तथा विद्यार्थीलाई नगरप्रमुख क्षेत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, नगर शिक्षा अधिकृत विदुर आचार्यलगायत वडाध्यक्षहरूले सम्मानपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकृत विदुर आचार्यले गर्नुभएको थियो।

गौरादह नगरपालिकाभित्र हाल ३२ वटा सामुदायिक र २१ वटा संस्थागत गरी ५३ वटा विद्यालय सञ्चालनमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0