झापा । बचत तथा ऋण सहकारी संघ झापाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा सहकारी क्षेत्रका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मंगलबार बिर्तामोडस्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा झापाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विशेषगरी २० करोड रुपैयाँभन्दा बढी कारोबार तथा पूँजी भएका प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष युवराज गिरीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुनका महासचिव घनश्याम अधिकारी सहभागी थिए।
कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका पछिल्ला चुनौती, संस्थागत सुशासन, सदस्यको बचत सुरक्षालगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले सहकारी संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहकारी संस्थाहरूबीचको सहकार्य, संस्थाको वित्तीय अनुशासन तथा वर्तमान अवस्थामा सहकारी क्षेत्रप्रति सदस्य र सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न अपनाउनुपर्ने रणनीतिका विषयमा समेत विचार–विमर्श भएको थियो।
त्यस्तै, कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष चन्द्रकुमारी खड्का भट्टराई अन्य , जिल्ला सहकारी संघ झापाका कोषाध्यक्ष केशव बस्नेत, सहसचिव टसबहादुर श्रेष्ठ तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संघका सदस्य हिमालयप्रसाद कन्दङ्गवाले राखेका थिए भने सञ्चालन संघका सचिव विनोद ढकालले गरेका थिए।
स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रियाले झापाको बचत तथा ऋण सहकारी क्षेत्रका साझा समस्या पहिचान गर्दै आगामी दिनमा सहकारी संस्थाहरूलाई थप प्रभावकारी र जिम्मेवार ढंगले सञ्चालन गर्न सहकार्य र समन्वयको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।












