शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजनाअन्तर्गत एकदिने सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारमा रहेको श्री दीक्षान्त शिक्षा निकेतन अंग्रेजी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावक, स्थानीय समुदायका फर्किएका आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्य गरी ७० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै पुनःस्थापना हुन सहयोग पुर्‍याउनु रहेको थियो। सहभागीलाई स्वदेशमै स्वरोजगारमुखी काममा लाग्न प्रेरित गर्दै वैदेशिक रोजगारीमा जानैपर्ने अवस्था भए सीप सिकेर दक्ष जनशक्ति बन्न तथा नेपाल सरकारले तोकेका मापदण्ड पालना गरी सुरक्षित रूपमा रोजगारीमा जान प्रेरित गरिएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सुरक्षा उपाय, रोजगारीका क्रममा सुरक्षित रहन अपनाउनुपर्ने सावधानी, स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रबाट प्राप्त हुने सेवासुविधा, श्रमसम्बन्धी व्यवस्था, सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्या समाधानका लागि नेपाल सरकारका सम्बन्धित नियामक निकायबाट प्राप्त हुने सेवाका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइँटेलले स्वदेशमै स्वरोजगारका अवसर खोज्न र वैदेशिक रोजगारीमा जानैपर्ने भए सीप सिकेर, आवश्यक जानकारी लिएर तथा सबै प्रक्रिया बुझेर मात्र अघि बढ्नुपर्नेमा जोड दिइएको बताउनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत सहभागीलाई सचेत गराइएको थियो।

कार्यक्रमको सहजीकरण गौरादह नगरपालिकाका दुर्गाप्रसाद खनालले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक रेवत प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहभागीलाई वैदेशिक रोजगारीसम्बन्धी आवश्यक जानकारी र सचेतना प्रदान गर्ने उद्देश्यमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0