झापा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बैठकमा नगर प्रमुख प्रसाईले बाढीका कारण रसुवा टिमुरे बजारदेखि स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताउनुभयो।
नगर प्रमुख प्रसाईले उद्धार तथा राहत कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न तथा मानवीय सेवामा जुट्न सम्पूर्ण नागरिक, संघ संस्था र निजी क्षेत्रलाई समेत अपिल गर्नुभयो।
बिर्तामोड नगरपालिकाले विपद्मा परेका नागरिकप्रति स्थानीय सरकारको दायित्व र मानवीय भावनासहित सहयोग गर्ने निर्णय गरेको जनाएको छ।












