झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि झापाको अर्जुनधारा नगरपालिकाले २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह तामाङको आह्वानमा बिहीबार बसेको सर्वपक्षीय बैठकले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएको हो ।
नगरपालिकाका अनुसार उक्त रकम स्थानीय उद्योगी–व्यवसायी, सामुदायिक वन, खानेपानी उपभोक्ता समिति तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट जुटाइनेछ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण बागमती प्रदेशका रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै अर्जुनधारा नगरपालिकाले विपद्को यो घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाएको हो ।
नगरपालिकाले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नगर प्रमुख तामाङले विपद्को अवस्थामा सामाजिक उत्तरदायित्व बहन गर्दै राहत कोषमा योगदान गर्न उद्योगी, व्यवसायी, संघसंस्था, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद दिँदै नगरवासीलाई समेत आ–आफ्नो तर्फबाट सहयोग गर्न अपिल गर्नुभएको छ ।
नगरपालिकाले नेपाल सरकारको विपद् प्रतिकार्य, उद्धार तथा पुनःस्थापनाको अभियानमा स्थानीय तहका रूपमा साथ दिन सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।












