शिवसताक्षी । कञ्चनजंघा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले शिवसताक्षी नगरपालिका–डुँडामारीमा इकाइगत २६औँ साधारण सभा सम्पन्न गरेको छ।

दमकमा केन्द्रीय कार्यालय रहेको सहकारीले दमकबाहिर ६ वटा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ। सोही क्रममा डुँडामारी शाखामा इकाइगत साधारण सभा आयोजना गरिएको हो।

साधारण सभामा संस्थाका अध्यक्ष भरतकुमार चम्लागाईंले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न समयका अप्ठ्यारा परिस्थितिको सामना गर्दै २६औँ साधारण सभा मनाउन सफल भएको बताउनुभयो। उहाँले सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर संस्थाले आफ्ना सेवा तथा वित्तीय गतिविधिलाई अघि बढाउँदै आएको जानकारी दिनुभयो।

सदस्यलाई सहज हुने गरी कर्जाको ब्याजदर घटाइएको बताउँदै अध्यक्ष चम्लागाईंले महिला उद्यमी कर्जाको ब्याजदर ७ प्रतिशतमा झारिएको जानकारी दिनुभयो।

संस्थाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२ /०८३ सम्ममा सहकारीले ६ करोड ३६ लाख ७७ हजार ५ सय रुपैयाँ शेयर पुँजी निर्माण गरेको छ। त्यस्तै, ६३ करोड ६३ लाख ८३ हजार ६ सय ५६ रुपैयाँ निक्षेप संकलन तथा ६२ करोड १५ लाख ३८ हजार ८ सय १२ रुपैयाँ कर्जा लगानी गरेको छ।

साधारण सभाका अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने चार जना सदस्यलाई सम्मान गरेको छ। असल कर्जातर्फ देउकला लिम्बू, कञ्चन युवा बचततर्फ सरिता श्रेष्ठ, नारी बचततर्फ रमा खवास भुजेल र पेन्सन बचततर्फ तुलसादेवी घिमिरेलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी नगर उपप्रमुख नरमाया कार्कीले सहकारी तथा वित्तीय कारोबारमा अत्यन्त संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो। सदस्यहरूले जम्मा गरेको बचत रकम नै कर्जाका रूपमा लगानी गरिने भएकाले एक जनाले लिएको ऋण असुली हुन नसक्दा त्यसको प्रत्यक्ष असर बचतकर्तामा पर्न सक्ने उहाँको भनाइ थियो।

उपप्रमुख कार्कीले संस्थाको विनियम तथा सरकारले तोकेको मापदण्डभित्र रहेर वित्तीय कारोबार गर्न सहकारीलाई सुझाव दिनुभयो। उहाँले सहकारी संस्थाहरूले सदस्यको विश्वास र बचतको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

सहकारीले भदौ २९ गते मुख्य कार्यालय दमकमा माइन्युट प्रमाणीकरण कार्यक्रम आयोजना गरी २६औँ साधारण सभाका सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने जनाएको छ।

कञ्चनजंघा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड डुँडामारी शाखाका संयोजक लेखनाथ भुर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कर्मचारी टिकाराम सापकोटाले सञ्चालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0