बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको आगामी चार वर्षे कार्यकालका लागि संस्थाका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको पाइएको छ ।
संस्थाले गत साउन ३० गते सूचना प्रकाशन गरी सुरु गरेको निर्वाचन कार्यक्रमअन्तरगत आज भदौ २० गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिएको हो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता सुधिरकुमार सुवेदीका अनुसार संस्थाको सञ्चालक समितिमा ९ जना र लेखा सुपरीवेक्षण समितिका लागि ३ जना गरी १२ जना नेतृत्व चयन गर्न निर्वाचन कार्यक्रम सञ्चालन गरिएको हो ।
निर्वाचन अधिकृत सुवेदीको हस्ताक्षरमा दर्ता भएका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गरिँदा नै पदाधिकारीहरु निर्विरोध भएका हुन् । जसअनुसार संस्था संचालक समितिको अध्यक्षमा यामकुमार चुडाल, उपाध्यक्षमा दिनेशकुमार सुवेदी, सचिवमा कृष्णप्रसाद खरेल र कोषाध्यक्षमा शिबबहादुर कटुवालको मात्र उम्मेदवारी परेको छ ।
उहाँहरु मध्ये सचिवका उम्मेदवार खरेल नयाँ जिम्मेवारीमा आउन लाग्नु भएको हो । खरेल यसअघि संस्थाको व्यवस्थापक हुनुहुन्थ्यो । अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष आगामी कार्यकालका लागि पनि निर्विरोध हुनुभएको हो ।
यस्तै संचालक समितिमा सदस्यहरु तीन महिला र दुई खुल्लाका लागि शिबबहादुर दाहाल, अनिता गौतम, ज्ञानुराम खरेल, मिना पाण्डे ओली, गोपाल खरेल, मोहन भट्टराई र सीतादेवी कार्कीको मनोनयन दर्ता भएको छ ।
संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा मिलन कोइराला र कमला सिवाकोटीको उम्मेदवारी दर्ता भएको छ भने एक महिलासहित दुईजना सदस्यहरुको लागि दिलिप गौतम, द्वारिका सुवेदी र सविता घिमिरे मैनालीको उम्मेदवारी परेको छ ।
झापाको कनकाई माईपूर्वका लगभग सबै भूगोलमा कार्यक्षेत्र विस्तारित सो संस्थामा गत असार मसान्तमा २ हजार ६४८ सेयर सदस्यहरु रहेका छन् । संस्थाको सेयर पूँजी ४ करोड १५ लाख ५३ हजार ८०० रुपैयाँ छ भने विभिन्न जगेडा कोषहरुमा ४ करोड ७० लाख ५० हजार ७०० रुपैयाँ जम्मा भएको अध्यक्ष यामकुमार चुडालले बताउनु भएको छ ।
संस्थाले सदस्यहरुबाट ३७ करोड २७ लाख ७० हजार ९४२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने वासलात अंक ४७ करोड ३५ लाख ९८ हजार १५४ रुपैयाँ पुर्याइएको छ ।
संजिवनीले आफ्नो १९औं वार्षिक साधारणसभा यही असोज १० गते बिर्तामोडमा आयोजना गरेको छ ।












