शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी परियोजनाको स्थानीय सरकारसँग समन्वय तथा समीक्षात्मक बैठक शिवसताक्षी नगरपालिकामा सम्पन्न भएको छ।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै पुनःस्थापना गर्न सहयोग पुर्याउने उद्देश्यले कारितास नेपालले ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजना’ सञ्चालन गर्दै आएको छ। परियोजना सुरु भएको करिब अढाई वर्षको अवधिमा शिवसताक्षी नगरपालिकाका वडा नम्बर १, ४, ७, ८ र ११ मा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
बैठकमा परियोजनाले हालसम्म नगरपालिकामा पारेको प्रभाव, परियोजनाका सबल पक्ष, उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे छलफल गरिएको थियो। त्यस्तै, आगामी दिनमा परियोजनालाई थप प्रभावकारी र व्यापक बनाउने सम्भावना, सञ्चालन गरिने कार्यक्रम तथा स्थानीय सरकारसँग आवश्यक सहकार्य र समन्वयका विषयमा समेत छलफल भएको थियो।
बैठकमा कारितास नेपालले शिवसताक्षी नगरपालिकासँगको सम्झौता अवधि सकिन लागेकाले शिवसताक्षी नगरपालिकाले आगामी दिनमा पनि कारितास नेपालसँग सहकार्य गर्न नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमहरु गर्न सकिने नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनु भयो । उहाँले नगरभित्रका हालसम्म गरिएका कामहरु प्रभावकारी रहेको र त्यसलाई थप प्रभावकारी र अन्य नयाँ कार्यक्रमहरु समावेश गर्न सकिने जानकारी दिनुभयो ।

वडाध्यक्ष बहादुर आङ्गबो, विष्णुप्रसाद प्रसाई लगायतले वडाले पनि साझेदारी गर्न बजेटको व्यवस्था गर्न सक्ने भएकाले कारितास नेपालसँगको कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले परियोजनाको हालसम्मको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतिकरण दिएका थिए। उनले स्थानीय तहसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै सुरक्षित वैदेशिक रोजगारी, फर्किएका आप्रवासीको पुनःस्थापना तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा परियोजनालाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या न्यूनीकरण, फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारका अवसरसँग जोड्ने र मानव बेचबिखनविरुद्ध सचेतना अभिवृद्धि गर्ने कार्यमा स्थानीय तह र परियोजनाबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
परियोजनाले आगामी दिनमा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम विस्तार गर्दै सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन, आप्रवासी तथा उनीहरूका परिवारलाई आवश्यक परामर्श र सहयोग तथा फर्किएका आप्रवासीको पुनःस्थापनामा थप योगदान पुर्याउने लक्ष्य लिएको जनाइएको छ।












