शिवसताक्षी । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सशक्तीकरण परियोजना’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। एन्जेलिका एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिभावक, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा स्वदेशमै स्वरोजगारमुखी गतिविधिमा लाग्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जानैपर्ने अवस्थामा आवश्यक सीप हासिल गरी दक्ष जनशक्तिका रूपमा सुरक्षित र मर्यादित ढंगले अघि बढ्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, रोजगारीका क्रममा सुरक्षित रहन अपनाउनुपर्ने उपाय, ठगीबाट बच्ने तरिका, स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रबाट प्राप्त हुने सेवाहरू, श्रम तथा सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोषलगायत वैदेशिक रोजगारीका क्रममा देखिन सक्ने समस्याको समाधानका लागि नेपाल सरकारका सम्बन्धित नियामक निकायबाट प्राप्त हुने सेवाका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनुका साथै विदेशबाट फर्किएका आप्रवासीलाई स्थानीयस्तरमै पुनःस्थापना तथा स्वरोजगारका अवसरमा जोड्न सहयोग पुर्याउनु रहेको परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिनुभयो।
उहाँका अनुसार, “स्वदेशमै स्वरोजगारमुखी काममा लागौँ, वैदेशिक रोजगारीमा जानै परे सीप सिकेर दक्ष जनशक्ति बनौँ र आवश्यक सबै प्रक्रिया तथा मापदण्ड बुझेर मात्र वैदेशिक रोजगारीमा पाइला अघि बढाऔँ” भन्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।
कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गौरादह नगरपालिकाका दुर्गाप्रसाद खनालले गर्नुभएको थियो।












