झापा । झापाका सन्तोष आचार्यलाई उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्यकाे जिम्मेवारी दिइएको छ ।

राजनीतिक विचार, विश्लेषण, सामाजिक क्षेत्र तथा पत्रकारितामार्फत समाज रुपान्तरणका अभियानमा लागेका आचार्यलाई आज काठमाण्डौमा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेका हुन् ।

निरन्तरको छलफल पछि उज्यालो नेपाल पार्टीम प्रवेश गर्ने निर्णय गरेको आचार्यकाे भनाइ छ । राजनीतिक जीवनलाई नयाँ ढंगबाट अगाडि बढाउने सोचका साथ उज्यालो नेपाल पार्टी रोजेको आचार्यले बताएका छन् ।

‘समृद्ध देश निर्माण र सामाजिक रुपान्तरणको अभियानमा उज्यालो नेपालमार्फत लाग्नेछु´ आचार्यले भने `साेहीअनुसार सबैबाट सकारात्मक सहयोग र सल्लाहाको अपेक्षा गरेको छु ।’

दुई दशक भन्दा बढी पत्रकारितामा सक्रिय आचार्य प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य र पत्रकार महासंघ झापाका पूर्व सचिव समेत हुन् । उनकै अग्रसरता र संयाेजनमा प्रेस क्लव मेचीनगरको सुरुवात भएकाे थियाे ।

नेकपा एमालेमा केन्द्रीय विभागकाे सदस्य तथा झापा जिल्ला कमिटीको सदस्यकाे जिम्मेवारी पूरा गरेका आचार्यलाई हर्क साम्पाङ प्रमुख वक्ता रहेकाे भ्रष्टाचार र कुशासनकाे विरुद्ध काँकडभिट्टामा आयाेजित एक कार्यक्रममा भाषण गरेकै आराेपमा पार्टीले निलम्बनकाे सिफारिस गरेकाे थियाे ।

उक्त घटनाकाे केही महिनापछि अचार्यले एमाले नेतृत्वको  कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल मार्फत   एमाले परित्याग गरेकाे घाेषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0