शिवसताक्षी  । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सशक्तीकरण परियोजनाअन्तर्गत एकदिने अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शिवसताक्षी नगरपालिका–४, बाहुनटोलमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारका सदस्य, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर परियोजनाबाट प्रत्यक्ष लाभ लिँदै स्थानीयस्तरमै पुनःस्थापित भई स्वरोजगार तथा उद्यमशीलतामा सफल भएका व्यक्तिहरूको सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीमा जाने क्रममा अपनाएका माध्यम, विदेशमा रहँदा भोगेका समस्या तथा संघर्ष, स्वदेश फर्किएपछि पुनःस्थापना हुन अपनाएका उपाय र स्थानीयस्तरमा स्वरोजगार तथा उद्यमशीलतामा लाग्दाका अनुभवहरू आदानप्रदान गरेका थिए।

परियोजना परिचालक चिरञ्जीवी लुइटेलका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको अनुभवलाई समुदायका अन्य लक्षित वर्गसम्म पुर्‍याउँदै स्वदेशमै स्वरोजगार तथा उद्यमशीलतामा लाग्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। साथै, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरूलाई सीप सिकेर दक्ष जनशक्ति बन्न तथा नेपाल सरकारका निर्धारित प्रक्रिया र मापदण्ड पूरा गरी सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय शिवगञ्जका प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक ज्ञानु देउजाले मानव बेचबिखनको अवधारणा, जोखिम पहिचान गर्ने उपाय तथा मानव बेचबिखनबाट जोगिन अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे जानकारी दिनुभएको थियो।

त्यस्तै, स्वदेशमै पुनःस्थापित भई स्वरोजगार तथा उद्यमशीलतामा सफलता हासिल गरेका कन्काई नगरपालिका–पञ्चकन्या होमस्टे कृषक समूहका सचिव भानु खवास, सृजनशील आईपीएम समूहका अध्यक्ष तथा अगुवा कृषक रबिन भट्टराई र शिवसताक्षी नगरपालिका–८ का ज्ञानप्रसाद गौतमलगायतले आफ्ना संघर्ष र सफलताका अनुभव सुनाएका थिए।

उनीहरूले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि सीप, मेहनत र स्थानीय स्रोत–साधनको प्रयोग गर्दै कसरी स्वरोजगार बन्न सकिन्छ भन्ने विषयमा सहभागीलाई जानकारी गराएका थिए।

झरीको मौसमका बाबजुद कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले समुदायस्तरमा सफल व्यक्तिहरूका वास्तविक अनुभव सुन्ने र त्यसबाट सिक्ने अवसर प्राप्त हुने भएकाले यस्ता कार्यक्रमले स्वरोजगार तथा उद्यमशीलतामा लाग्न प्रेरणा मिल्ने प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमको अध्यक्षता शिवसताक्षी नगरपालिका–४ बाहुनटोलका अग्रज व्यक्तित्व दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0