झापा । झापाको १५ वटै पालिकामा जापानिज इन्सेफलाइटिस (जेई) खोपविरुद्धको अभियान सञ्चालन भइरहेको छ । ५ गतेबाट सुरु भएको अभियानमा सोमवारसम्म २ लाख ७० हजार २४८ जनाले खोप लगाएका छन् ।

असोज १२ गतेसम्मको अवधिमा १ लाख ५४ हजार २ सय ७३ जना महिला र १ लाख १५ हजार ९७५ जना पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो । असोज १४ गतेसम्म सञ्चालन हुने अभियानमा ४ लाख ९३ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । असोज १२ गतेसम्म ३० देखि ६० वर्ष उमेर समूहका २ लाख ३ हजार ५१६ जना र ६० वर्षभन्दा माथिका ६६ हजार ७३२ जनाले खोप लगाएको उहाँले बताउनुभयो ।
जेई खोप विरुद्धको अभियान अन्तर्गत आठ दिनमा जिल्लामा ५४.८ प्रतिशत लक्ष्य प्राप्ति भएको छ ।

हालसम्म मेचीनगरमा ४० हजार ३१३, बुद्धशान्ति १३ हजार ८८०, अर्जुनधारा १८ हजार २९, कनकाई १७ हजार ९२८, शिवसताक्षी २० हजार ७६९, कमल १५ हजार ५६९, दमकमा ३५ हजार ६०५ जनाले खोल लगाइसकेका छन् । यस्तै, गौरादहमा १९ हजार ८३६ ,गौरीगञ्ज ११ हजार ७७९, झापा १२ हजार १०२, बाह्रदशी ८ हजार ८५, बिर्तामोड २८ हजार ६२६, हल्दिवारी ८ हजार ९३८, भद्रपुर १० हजार २०५ र कचनकवलमा ८ हजार ५८४ जनाले खोप लगाइसकेको प्रमुख दासको भनाई छ ।

झापामा उच्च जोखिम
झापामा जापानिज इन्सेफलाइटिस (जेई) का कारण ७ जनाको मृत्यु भइसकेको छ । सन् २०२६ को जुनदेखि हालसम्म जिल्लामा जापानीज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएको तथ्याङक छ । उनीहरूमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा सबैभन्दा धेरै मेचीनगर नगरपालिकामा चार जनामा जेईको संक्रमण देखिएकामा दुई जनाको मृत्यु भइसकेको छ भने जेईका कारण अर्जुनधारा नगरपालिका, बारहदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकामा जेई भाइरसको संक्रमणका कारण एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा जेई संक्रमणबाट ७ जनाको मृत्यु भएको छ, यो देशभरका जिल्लामध्ये सबैभन्दा बढी हो । सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु भएको छ भने मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रेपलाञ्चोक, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको छ ।

झापा र कैलाली जिल्लामा जापानीज इन्सेफालाइटिसको रोग दर र मृत्युदर सबैभन्दा उच्च रहेका छ । त्यसैले यी जिल्लालाई उच्च प्राथमिकतामा राखी खोप अभियान सञ्चालन गरिएको हो ।

झापाका १५ वटा पालिकाका ३० वर्ष माथिका ४ लाख ८५ हजार ५५ जनालाई जेई विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप अभियानका लागि प्रत्येक पालिकामा आवश्यक जनशक्ति परिचालन गरिएको छ ।
अभियान अन्तर्गत कनकाई नगरपालिकामा २६ हजार जनालाई खोप लगाइने छ । त्यस्तै, मेचीनगर नगरपालिकामा ६४ हजार ८४४, बुद्धशान्ति गाउँपालिकामा २५ हजार ९३३, अर्जुनधारा नगरपालिकामा ४१ हजार ३, शिवशताक्षी नगरपालिकामा ३६ हजार १७२ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

यस्तै, कमल गाउँपालिकामा २६ हजार ३६३, दमक नगरपालिकामा ५२ हजार २८३, गौरादह नगरपालिकामा २९ हजार ५५०, गौरीगञ्ज गाउँपालिकामा १७ हजार ४२६, झापा गाउँपालिकामा १९ हजार २७१, बाह्रदशी गाउँपालिकामा १८ हजार ६१२, बिर्तामोड नगरपालिकामा ५६ हजार ६४०, हल्दिबारी गाउँपालिकामा १६ हजार ७३, भद्रपुर नगरपालिकामा ३६ हजार ६३४ र कचनकवल गाउँपालिकामा २० हजार २५१ जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।
कस्तो अवस्थामा खोप नलगाउने

गर्भवती महिला, पहिले खोप लगाउँदा एनापइलेक्सिस् भएको वा खोपमा भएको कुनै तत्वको गम्भीर प्रकृतिको एलर्जी भएको भएमा, ज्वरो आएको अवस्थामा पनि यो खोप लगाउनु हुँदैन । तर, ज्वरो कम भएमा वा ठीक भएपछि यो खोप लगाउन सकिन्छ । एचआइभी संक्रमण वा एड्स भएका व्यक्तिले खोप लगाउन नहुने जनाइएको छ ।
के हो जेई ?

जापानिज इन्सेफलाइटिस (जेई) भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0