तालिम, गोष्ठी वा अफिसको कुनै बैठक सुरु हुँदा प्रायः एउटै कुरा हुन्छ। सहजकर्ताले मुस्कुराउँदै भन्छन्, “सुरुमा सबैले आफ्नो छोटो परिचय दिऔं न।”

अनि कोठाको वातावरण अलि अनौठो हुन्छ। कोही मोबाइल हेर्न थाल्छन्, कोही कलम घुमाउँछन्। सबैजना मनमनै गन्न थाल्छन्, मेरो पालो कति नम्बरमा पर्छ।

मानौं, तपाईं एघारौं हुनुहुन्छ। पहिलो जनाले बोल्न थालेदेखि नै तपाईंको दिमागमा अर्कै कुरा चल्न थाल्छ। नमस्कारबाट सुरु गर्ने कि सिधै नामबाट? पद भन्ने कि नभन्ने? “आज किन आउनुभयो” भन्दा साँचो कुरा भन्ने कि राम्रो सुनिने कुरा भन्ने? यता दस जनाले परिचय दिइसक्छन्, तपाईंलाई एउटाको पनि नाम याद हुँदैन।

पालो आउँछ। नाम भनियो, काम भनियो, अनि बाँकी कुरा कता हरायो पत्तै भएन। “धन्यवाद।” बस्नुभयो।

दस मिनेटको तयारी, पन्ध्र सेकेन्डको परिचय।

त्यसपछि भने तपाईं कोठाकै सबैभन्दा राम्रो श्रोता बन्नुहुन्छ। बाँकी उन्नाइस जनाको कुरा ध्यान दिएर सुन्नुहुन्छ। अब डराउनुपर्ने केही बाँकी छैन।

अनि ब्रेकमा चिया खाँदा? छेउमा बसेको मान्छेसँग आधा घण्टा गफ लम्बिन्छ। काम, घर, देशको राजनीति, सबै कुरा। कतै अड्किनु पर्दैन।

मलाई यो कुराले सधैं अचम्म लाग्छ। उही मान्छे, उही भाषा। चिया पसलमा जो यति सहज छ, ऊ बीस जनाको अगाडि उभिँदा किन अर्कै मान्छे बन्छ?

तालिम दिने क्रममा मैले यो दृश्य धेरैपटक देखेको छु। अनि एउटा कुरा पक्का भन्न सक्छु, यो डरको पढाइ, पद वा पैसासँग खासै साइनो हुँदैन। बैंकमा करोडौंको हिसाब सम्हाल्ने अधिकारी होऊन् वा वर्षौंदेखि पसल चलाइरहेका साहुजी, माइक अगाडि आउँदा धेरैको हालत उस्तै हुन्छ। उनीहरूसँग भन्ने कुरा कम छैन, बरु धेरै छ। बस्, त्यो कुरा धेरै आँखाका अगाडि बाहिर निकाल्ने बानी परेको छैन।

बानी किन परेन भनेर बुझ्न अलि पछाडि फर्कनुपर्छ।

“ठूलाको अगाडि धेरै नबोल्।” “पाहुना आएका बेला भित्र जा।” “धेरै जान्ने नबन्।” हामीमध्ये धेरैले सानैमा यस्ता वाक्य सुनेका छौं। स्कुलमा हात उठाएर गलत उत्तर दिँदा पूरै कक्षा हाँसेको सम्झना पनि धेरैसँग होला। त्यसपछि हात उठाउन मन लागेन, उत्तर थाहा हुँदा पनि।

मेरो कुरा गलत नबुझ्नुहोला। विनम्रता हाम्रो राम्रो पक्ष हो, त्यो छोड्नु पर्दैन। तर विनम्र हुनु र आफ्नो कुरा भन्नै नसक्नु एउटै कुरा होइन। कतै न कतै हामीले यी दुईलाई मिसाइदियौं।

अब डरकै कुरा गरौं।

बोल्नुअघि मुटु छिटो चल्छ, घाँटी सुक्छ, हात चिसो हुन्छ। धेरैले यसलाई “म बोल्न सक्दिनँ” भन्ने प्रमाण ठान्छन्। म त्यसो ठान्दिनँ। अगाडि केही महत्त्वपूर्ण हुँदैछ भनेर शरीरले तपाईंलाई जगाइरहेको मात्र हो। परीक्षा हलमा छिर्नुअघि वा अन्तर्वार्ताको ढोका ढकढक्याउनुअघि पनि त यस्तै हुन्छ।

आफ्ना सहभागीहरूलाई म प्रायः एउटा सानो कुरा भन्छु। डर लाग्दा र खुबै उत्साह लाग्दा शरीरमा हुने कुरा लगभग उस्तै हुन्छन्। त्यसैले बोल्नुअघि मुटु ढुकढुक गर्दा “म डराएँ” भन्नुको सट्टा “म अलि उत्साहित छु” भनेर हेर्नुहोस्। सुन्दा केटाकेटीको खेलजस्तो लाग्ला, तर एकपटक गरेर हेर्नुहोस्।

मञ्चमा सहज देखिनेहरू पनि डराउँछन्। उनीहरूले डरसँगै बोल्न सिकेका हुन्छन्, त्यति हो।

“उसको त बोल्ने कला जन्मजात हो।” यो वाक्य पनि हामी धेरै सुन्छौं। यसमा म अलि असहमत छु।

साइकल सम्झनुहोस् त। पहिलो दिन कसले सिधै चलायो? घुँडा छिलियो, कसैले पछाडिबाट क्यारियर समातिदियो, अनि एक दिन थाहै नपाई उसले छोडिसकेको रहेछ। बोल्ने कुरा पनि यस्तै हो। सुरुमा आवाज काँप्छ, शब्द बीचमै हराउँछन्। अभ्यास गर्दै जाँदा सन्तुलन आफैं आउँछ।

यो किन जरुरी छ भन्ने प्रश्नको मसँग सिधा जवाफ छ।

बैठकमा तपाईंसँग राम्रो सुझाव थियो, तर भन्नुभएन। पाँच मिनेटपछि अर्कैले उही कुरा अलि ठूलो स्वरमा भन्यो, र स्याबासी उसैले पायो। यस्तो एकपटक भए संयोग हो। बारम्बार भयो भने त्यसले करियर नै बदलिदिन्छ।

अन्तर्वार्ता होस् कि ग्राहकलाई आफ्नो सामान बुझाउनु, कक्षाको प्रस्तुति होस् कि टोलको बैठक, फेसबुक-टिकटकमा व्यवसायको भिडियो बनाउनु होस् कि घरमै किशोर छोराछोरीसँग मन खोलेर कुरा गर्नु, चाहिने कुरा एउटै हो: आफ्नो कुरा अर्कोले बुझ्ने गरी भन्न सक्नु पर्छ।

अनि अर्को कुरा, जसलाई म व्यक्तित्व विकास भन्छु। मान्छे बोल्न सहज हुन थालेपछि उसको हिँडाइ, हेराइ र निर्णय गर्ने तरिकामा पनि फरक देखिन थाल्छ। यो मैले किताबमा पढेको कुरा होइन, तालिममा आफ्नै आँखाले देखेको कुरा हो।

यो साताका लागि एउटा सानो काम दिन्छु।

हरेक दिन एउटा सजिलो विषय छान्नुहोस्, जस्तै मेरो गाउँ, मलाई मन पर्ने खाना, वा आजको दिन। मोबाइलको क्यामेरा खोलेर ठीक एक मिनेट बोल्नुहोस्। बीचमा अड्किनुभयो भने पनि नरोक्नुहोस्। पछि भिडियो एकपटक हेर्नुहोस् र भोलि सुधार्ने एउटा मात्र कुरा टिप्नुहोस्। एउटै, धेरै होइन।

सात दिनपछि पहिलो र सातौं दिनको भिडियो सँगै हेर्नुहोस्।

पहिलो दिनको भिडियो हेर्दा आफैंलाई लाज लाग्छ, म पहिल्यै भनिदिन्छु। सबैलाई लाग्छ। तर सातौं दिनसम्म आइपुग्दा फरक तपाईं आफैं सुन्नुहुनेछ।

अँ, बोल्दा “अँ…”, “भनेको…”, “के रे…” धेरै आउँछ भने त्यसको सट्टा एक-दुई सेकेन्ड चुप लागेर हेर्नुहोस्। त्यो चुप्पी तपाईंलाई जति लामो लाग्छ, सुन्नेलाई त्यति लाग्दैन।

अर्को पटक कुनै कार्यक्रममा “सबैले परिचय दिऔं” भन्ने कुरा आयो भने आफ्नो पालो गन्दै बस्नु नपरोस्। चिया पसलमा जसरी बोल्नुहुन्छ, त्यसरी नै बोल्न सक्नुभयो भने पुग्छ।

तर हामी धेरै मानिसहरुको एउटा मुख्य समस्या चाहीँ के छ भने? मैले ७ दिन सम्म आफुले १ मिनेट बोलेको भिडियो रेकर्ड गर्नुस र हरेक दिन १ वटा कुरा मात्र सुधार गर्न सक्नुभयो भने अधिकांश मानिसको तुलनामा तपाईँ निकै राम्रो वक्ता बनिसक्नु भएको हुन्छ । तर हामी बढिमा २ दिन मात्र नियमति यो कार्य गर्न हामीलाई गाह्रो पर्नेगर्छ ।

यो हामी सबैको साझा समस्या हो । यसको हल गर्ने उपाए भनेको उस्तै लक्ष्य भएका मानिसहरुको संगत र एकआपसको सहकार्यबाट सम्भव छ । यसका लागी तपाईँले १५ दिने सार्वजनिक भाषणकलाको कक्षा लिएर तपाईँको यो सार्वजनिक ठाउँमा बोल्दा लाग्ने डरलाई जीवनभरिका लागी बिदाई गर्न सक्नुहुन्छ । यसरी तालिममा सहभागी हुँदा सबै एउटै सोच भएका मानिसहरुसँग नेटवर्किङ पनि हुने र सबैजनाको क्षमता विकास भएर विभिन्न कार्यमा सहकार्य गर्ने समेत अवसर प्राप्त हुनेछ ।

तपाईँलाई पनि १५ दिने सार्वजनिक भाषण कला र व्यक्तित्व विकासको तालिम लिएर आफ्नो जागिर, व्यवसाय, सार्वजनिक जीवन, लगायतका विभिन्न ठाउँमा आफुलाई अब्बल देखाएर प्रगती गर्न मन छ भने यो लिन्क मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

15 Days Public Speaking and Personality Development Training

अर्को साता विद्यार्थी र युवाको कुरा गर्नेछु। परीक्षामा राम्रो नम्बर ल्याउने तर अन्तर्वार्तामा अड्किने साथीहरूको कुरा समस्या बुझ्नेछौँ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0