शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा आयोजना हुन लागेको दोस्रो संस्करणको झापा महिला गोल्डकपको तयारी तीव्र पारिएको छ। आगामी मङ्सिर ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई लक्षित गरी रङ्गशालामा आधुनिक प्रविधिको प्याराफिट निर्माण गर्नुका साथै दर्शक व्यवस्थापन र सुरक्षालाई प्राथमिकता दिइएको छ।
प्रतियोगिताका लागि खेलमैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरी ६० मिटर लामो प्याराफिट निर्माण सुरु गरिएको आयोजकले जनाएको छ। आवश्यकताअनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यत्र लैजान सकिने भएकाले यस्तो संरचना ठूला खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा कन्सर्टका लागि उपयोगी मानिन्छ।

प्याराफिटका सञ्चालक सुमन भण्डारीका अनुसार उनी विगत पाँच वर्षदेखि यस व्यवसायमा संलग्न छन्। यसअघि विभिन्न कन्सर्टमा यस्ता प्याराफिट निर्माण गरेको अनुभव भए पनि झापा महिला गोल्डकपमा भने पहिलोपटक यस प्रविधिको प्रयोग गर्न लागिएको उनले बताए।
उनका अनुसार प्याराफिट छ तहको हुनेछ। संरचनामा प्रयोग हुने ६ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म भार धान्न सक्ने उनको दाबी छ। यसबाट दर्शकले बसेर खेल हेर्नुका साथै उभिएर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गर्न सक्नेछन्।
प्याराफिटमा इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भर्याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको सञ्चालक भण्डारीले जानकारी दिए। प्रतियोगिता सम्पन्न भएपछि उक्त संरचना फुकालेर अन्यत्र लैजान सकिनेछ।

दुधे रङ्गशालाको पश्चिमतर्फ स्थायी प्याराफिट रहेको छ भने उत्तर र दक्षिणतर्फ बाँसको प्याराफिट निर्माण भइरहेको छ। आधुनिक संरचनासहित दर्शक क्षमता विस्तार गर्ने र खेल हेर्न आउने दर्शकलाई सहज वातावरण उपलब्ध गराउने आयोजकको तयारी छ।
यसैगरी, झापा महिला गोल्डकप आयोजक मूल समारोह समितिले यस वर्ष टिकट व्यवस्थापन, दर्शक प्रवेश तथा निकास, पार्किङ र सुरक्षामा कडाइ गर्ने भएको छ। विगतका प्रतियोगितामा देखिएका कमजोरी सुधार गर्दै यसपटक व्यवस्थापनमा नयाँ रणनीति अपनाउन लागिएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनु भयो ।
प्रतियोगिताको उपाधि विजेताले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले पाँच लाख रुपैयाँ पाउनेछ। पुरस्कार राशिसँगै आधुनिक दर्शकदीर्घा निर्माण र व्यवस्थापनमा सुधार गर्ने तयारीले प्रतियोगितालाई थप व्यवस्थित बनाउने आयोजकको अपेक्षा छ।












