खुदुनाबारी । अर्काको घरको राँगा चोरी गरेर खुदुनाबारीस्थित पशुहाट (आइतबारे बजार)मा बेच्न लाग्दा राँगा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्जुनधारा ७ बस्ने २२ वर्षीय सेवन्त चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय राजकुमार चौधरी रहेका छन् ।
आइतबार बिहानको राति कन्काई ८ बस्ने ५७ वर्षीया लक्ष्मीमाया लिम्बूको गोठमा बाँधेको एउटा राँगा चोरेर उनीहरुले आइतबारे बजार (खुदुनबारी)मा बेच्न ल्याएका थिए । यता राँगा चोरी भएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी हुनसाथ इप्रका बिर्तामोडबाट प्रहरी टोली खटिनुको साथै मातहत समेतबाट टोली परिचालन भई खोजतलास शुरु गरिएको थियो ।
त्यसक्रममा खुदुनाबारीस्थित साप्ताहिक पशुबजारमा हराएको राँगा बेचबिखनका लागि बाँधेको अवस्थामा राँगा समातिरहेका चौधरीद्वयलाई शङ्का लागेर अस्थायी प्रहरी चौकी खुदुनाबारीमा राखेर सोधपुछ तथा अनुसन्धान गर्दा उनीहरुले सो राँगा चोरी गरी ल्याएको स्वीकारेका थिए ।
दुवै चौपाया सम्बन्धित धनीलाई बुझाई चोरीको दुवै घटनामा संलग्न उनीहरुलाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












