बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ ।

बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते डोजोले प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

झापा ११ फुटबल क्लब तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा डोजोमा आयोजित संक्षिप्त कार्यक्रममार्फत प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

प्रमाणपत्र वितरण पछि सम्बोधन गर्नुहुँदै अध्यक्ष गुरुङले मार्शल आर्टस्का खेलाडीहरुले आत्मरक्षाका लागि सिकेको सीप र कलाको दुरुपयोग नगर्न सुझाव दिनुभयो ।

तपाईंहरुको सीपले विश्वमा नेपालको नाम राख्न सक्नुपर्छ, खेलाडीहरुको प्रतिभा सीमाहीन हुने भएकाले कराँतेका खेलाडीहरुको सफलता व्यक्तिगतमात्र नभई देशकै हुने उहाँको भनाई थियो ।

विगत लामो समयदेखि बिर्ताबजारमा दुर्गा गुरुले निरन्तर प्रशिक्षण दिएर तपाईंहरुलाई आज ब्लाकबेल्ट दिलाउनु भयो । अब तपाईंहरुले अझ ध्यान दिएर माथिल्लो ग्रेडमा उक्लने र अन्तर्राष्टिय स्पर्धा खेलेर नेपालको नाम राख्नोस्, मेरो शुभकामना छ, प्रमुख अतिथि गुरुङले हौसला दिनुभयो ।

सो कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले खेलको नियम भनेको विकास, अनुशासन र गतिशिलता हो भन्ने सुझाउँदै कुलतमा फस्ने उमेर खेल जीवनमा बिताएर आफूलाई स्वास्थ राख्नु पर्ने बताउनु भयो ।

आज पनि बजारका कतिपय चोक र गल्लीहरुमा युवाहरु काम बिहीन भेटिन्छन्, यस्ता युवा गलत संगतमा परे भने कुलतमा फस्ने र दुर्ब्यसनी बन्ने खतरा हुन्छ । बरु यस्तो समय मार्शल आर्टका विभिन्न विधाहरु तथा अन्य शारीरिक स्फूर्ति दिने खेलहरु खेलेर जीवनलाई सार्थक बनाउन मेरो सुझाव छ वडाध्यक्ष मदन बुढाथोकीले भन्नुभयो ।

डोजो सञ्चालक राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गर्नुभएको सो संक्षिप्त कार्यक्रममार्फत महेन्द्ररत्न डोजोका प्रशिक्षार्थीहरु १९ जनाले आज ब्लाकबेल्टको प्रमाण पत्र लिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0